प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दोब्बर बढेर ६२ अर्ब

१ साउन, काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता दोब्बरले वृद्धि भएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा अघिल्लो आव २०७९/८० को तुलनामा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले वृद्धि भएको हो । एक वर्ष अवधिमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको हो ।
अघिल्लो आव २०७९/८० मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब ४० करोड रुपैयाँ बराबर भित्रिएको थियो । यसवर्ष गत आवको तुलनामा २३ अर्ब ५० करोड रुपैयाँ बढी वैदेशिक लगानी भित्रिएको हो ।
यो वर्ष असार महिनामा मात्र सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ । उद्योग विभागका अनुसार असारमा मात्र १७ अर्ब ४८ करोड ४७ लाख बराबर वैदेशिक लगानी भित्रिएको हो । जुन यस वर्ष कुनै एक महिनामा भित्रिएको सबैभन्दा ठूलो रकम हो ।
यस वर्ष सरकारले वैशाखमा लगानी सम्मेलन आयोजना गरेको थियो । यसले लगानी भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । वैशाखमा बढेको लगानी प्रतिबद्धता जेठमा केही कम भएको थियो । असारमा यसमा व्यापक सुधार भएको देखिएको छ ।
सरकारले वैशाखदेखि ‘अटोमेटिक रुट’ बाट एफडीआई भित्र्याउन थालेको थियो । अटोमेटिक रुटबाट यस वर्ष १६ अर्ब १९ करोड रुपैयाँ बराबर एफडीआई अटोमेटिक रुटबाट भित्रिएको विभागको तथ्यांक छ ।
४०७ विदेशी लगानी स्वीकृत
उद्योग विभागका अनुसार एक वर्ष अवधिमा कुल ४ सय ७ प्रत्यक्ष विदेशी लगानी स्वीकृत भएको तथ्यांक छ । असार २०८१ मा मात्र ४८ वटा लगानी स्वीकृत भएका छन् । अटोमेटिक रुटबाट १ सय ३९ वटा लगानी स्वीकृत भएका छन् ।
५ खर्ब नाघ्यो एफडीआई
यस वर्ष ६२ अर्बले एफडीइआई स्वीकृत भएसँगै नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी ५ खर्ब नाघेको छ । विभागका अनुसार कुल ६ हजार २ सय ६७ एफडीआई स्वीकृत भएकोमा ५ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।
अटोमेटिक रुटबाट आएको एफडीआई रकम भने १६ अर्ब १९ करोड रुपैयाँ रहेको छ । एक वर्षमा ‘सेयर पर्चेज एग्रिमेन्ट’ र ‘सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट’ कुल ६५ वटा भएका छन् । जसको रकम ११ अर्ब ६५ करोड रुपैयाँ देखिन्छ । प्रविधि हस्तान्तरणतर्फ कुल ५६ प्रस्ताव स्वीकृत भएका छन् ।
प्रतिबद्धता अनुसार लगानी भित्रिए २२ हजारलाई रोजगारी
विभागका अनुसार यस वर्ष प्रत्यक्ष वैदेशिक लगानी भित्रिएका प्रस्तावमा लगानी आउन थालेसँगै यी उद्योग तथा प्रतिष्ठानले २२ हजार रोजगारी सिर्जना हुने देखिएको छ । २२ हजार ९४ जनालाई रोजगारी दिने प्रतिबद्धता प्रस्तावमा उल्लेख छ । असार महिनामा मात्र स्वीकृत प्रस्तावले १ हजार ९ सय ४८ जनालाई रोजगारी दिने अनुमान छ ।
साना उद्योगमा बढी आकर्षण
नेपालमा एक वर्षमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी साना उद्योगमा बढी केन्द्रित देखिन्छ । असारसम्म आएका कुल प्रस्तावमध्ये साना उद्योगमा ३ सय ८६ वटा छ । मझौला उद्योगमा १५ मात्र प्रस्ताव आएका छन् । ठूला उद्योगमा ६ मात्र प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । असारमा मात्र आएको प्रतिबद्धता केलाउँदा साना उद्योगमा ४५, मझौलामा १ र ठूला उद्योगमा २ रहेको देखिएको छ ।
पर्यटन र सेवा क्षेत्रमा ओइरिँदै लगानी
क्षेत्रगत हेर्दा एफडीआईको आकर्षण पर्यटन र सेवा क्षेत्रमा अधिक देखिन्छ । एक वर्षमा कुल १ सय ९७ एफडीआई प्रस्ताव पर्यटन क्षेत्रमा स्वीकृत भएको देखिएको छ । यो कुल स्वीकृत संख्याको ४८ प्रतिशत हो ।
त्यस्तै सेवा क्षेत्रमा १ सय ३३ वटा लगानी स्वीकृत भएका छन् । जुन कुल प्रस्तावको ३३ प्रतिशत हुन आउँछ । उत्पादन उद्योगका ४६ प्रस्ताव स्वीकृत भएका छन् । जसको हिस्सा ११ प्रतिशत हुन आउँछ । सूचना प्रविधितर्फ ११ प्रस्ताव स्वीकृत भएका छन् । यो भनेको ३ प्रतिशत हो ।
बिजनेस भिसा सिफारिस बढ्दै
एक वर्ष अवधिमा विजनेस भिसा सिफारिस संख्यासमेत वृद्धि भएको छ । उद्योग विभागबाट एक वर्ष अवधिमा २ हजार २ सय २९ लगानीकर्तालाई बिजनेस भिसा सिफारिस भएको छ ।
अघिल्लो आव २०७९/८० मा बिजनेस भिसा सिफारिस संख्या १ हजार ८ सय ९ थियो । प्रतिनिधितर्फ यस वर्ष ४ सय ९ जनालाई बिजनेस भिसा सिफारिस भएको छ । गत आवमा २ सय ८५ जनालाई बिजनेस भिसा सिफारिस भएको थियो । डिपेन्डेन्टतर्फ १ हजार ७ जनालाई बिजनेस भिसा सिफारिस गरिएको छ । गत वर्ष यो संख्या ७ सय ७० थियो ।
रोयल्टी बढ्यो, लाभांश घट्यो
यस वर्ष प्रत्यक्ष वैदेशिक लगानीकर्ताले नेपालबाट लैजाने रोयल्टी रकम घटेको छ । तथ्यांक अनुसार यस वर्ष नेपालबाट २ अर्ब ७९ करोड रुपैयाँ रोयल्टी विदेश गएको छ । गत आव २ अर्ब ३३ करोड रोयल्टी विदेशिएको थियो । नेपालबाट एक वर्षमा विदेशी लगानीकर्ताले १० अर्ब ७ करोड रुपैयाँ लाभांश लगेको देखिएको छ ।
गत आवको एक वर्ष अवधिमा १३ अर्ब ८४ करोड रुपैयाँ लाभांश लगेको तथ्यांकमा देखिन्छ । अमेरिकी डलरमा एक वर्षमा १ करोड ९ लाख लाभांश लगेको देखिन्छ । अघिल्लो वर्ष २ करोड १२ लाख डलर लाभांश लगेको देखिएको छ ।
एक वर्षमा भारतीय रुपैयाँमा ७६ करोड २७ लाख लाभांश गएको देखिन्छ । गत आवमा ३५ करोड ६६ लाखमात्र लाभांश विदेशिएको थियो । युरोमा एक वर्षमा २३ हजार ८ सय लाभांश गएको छ । अघिल्लो वर्ष युरोमा ४९ हजार लाभांश विदेशिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।