Main

९ महिनामा सेयर धितो कर्जा १३ प्रतिशत बढ्यो

४ जेठ, काठमाडौं । ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा रकम झण्डै १३ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो कर्जामा ८६ अर्ब १८ करोड रुपैयाँ प्रवाह गरेका छन् ।

यो कर्जा रकम गत असार मसान्तसम्मको तुलनामा १२.९ प्रतिशत बढी हो । असार मसान्तसम्म ७६ अर्ब ३० करोड रुपैयाँ प्रवाह भएको थियो । यद्यपि गत वर्षको तुलनामा भने सेयर धितो कर्जा रकम घटेको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म ९४ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

यो चैत मसान्तसम्म सेयर धितो कर्जामा १ करोडमाथिको कर्जा ५२ अर्ब ६१ करोड प्रवाह भएको छ भने ५० लाखदेखि १ करोडसम्मको १२ अर्ब प्रवाह भएको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्म १४ अर्ब १८ करोड र २५ लाखभन्दा मुनिको ७ अर्ब ३७ करोड प्रवाह भएको छ ।

असार मसान्तसम्मको तुलनामा १ करोडमाथिको कर्जा सबैभन्दा धेरै १७.७ प्रतिशत बढेको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको कर्जा ११ प्रतिशत बढेको छ भने २५ लाख मुनिको ४.९ र ५० लाखदेखि १ करोडसम्मको कर्जा २ प्रतिशत बढेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button