पौडीका रायनले जिते अन्तर्राष्ट्रिय पदक

२७ माघ, काठमाडौं । नेपालका खेलाडी तेन्जीन नामडोल रायन गुरुङ्गले भारतको नयाँ दिल्लीमा जारी बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा पदक प्राप्त गर्न सफल भएका छन् ।
च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा गुरुङ्गले कास्य पदक जितेका हुन् ।
गुरुङ्गले आफ्नै नाममा २ मिनट २२.१५ सेकेन्डको समयमा सुधार गर्दै २ मिनट २१. १६ सेकेन्ड समयको नयाँ किर्तिमान समेत राख्न सफल भएका छन् । यस विधाको स्वर्ण र रजत भारतले हात पार्यो ।
तेन्जिनले यस च्याम्पियसिपमा २०० मिटर बटरफ्लाईमा २मिनट २९.२९ सेकेन्डको अर्को कीर्तिमान बनाए । यसअघि शिरीष गुरुङ्गको नाममा २ मिनट २९.८८ सेकेन्ड समयको कीर्तिमान रहेको थियो । शिरिषले उक्त कीर्तिमान २०१२ मा काठमाण्डौमा भएको दोस्रो एनएसए कपमा राखेका थिए ।
यस्तै तेन्जिनले सेरेन सिङ्ग, इरभिन श्रेस्ठ र सुभिज्ञ मान तुलाधर सङ्ग मिलेर ४ ह १०० मिटर रिलेमा ३ मिनट ४८.५७ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान राखे । यसअघि यो कीर्तिमान भारतको गोहाटीमा भएको १२ औं सागमा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरीष गुरुङ्गले ४ मिनट ७.२८ सेकेन्ड समयको रेकर्ड राखेका थिए ।
यसै गरी ४ गुणा १०० मिटर मिड्ले रिलेमा ४ मिनट १४.१० सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरे ।
यसअघि यो कीर्तिमान ४ मिनट ३१.३८ सेकेन्ड समयको कीर्तिमान एलिश श्रेस्ठ, चित्रबहादुर गुरुङ्ग, पुष्पराज शाही र तिलबाहादुर थापामगरको नाममा काठमाडौंमा भएको आठौं साफ गेममा रहेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।