‘मासिन्या’ फागुन १२ सम्म मञ्चन हुने

काठमाडौं । बुद्धि तामाङ र सोनाम लामा निर्देशित नाटक ‘मासिन्या’को मञ्चन अवधि लम्बाइएको छ । दर्शकको बढ्दो चापलाई फागुन १२ गतेसम्म नाटकको मञ्चन अवधि थप गरिएको ताम्सालिङ संघर्ष समिति सचिवालयका सदस्य बाबुराम लोप्चनले बताए ।
माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन २ गतेदेखि १२ गतेसम्म सोमबारबाहेक मञ्चन हुनेछ । माघ ११ गतेदेखि मञ्चन सुरु गरिएको नाटकलाई चार हजार भन्दा बढी दर्शकले हेरिसकेको मण्डला थिएटरले जनाएको छ ।
नाटक हेर्न राजनीतिकर्मीदेखि सुकुम्बासी बस्तीसम्मका दर्शकहरु आएकाले समुदाय विशेष सिर्जनामा थप हौसला मिलेको नाटकका लेखक राजु स्याङ्तानले बताए ।
‘नाटक हेर्ने दर्शकमा तामाङ मात्र नभएर गैरतामाङ समुदायको पनि उल्लेख्य उपस्थिति रहेको छ,’ उनले भने, ‘यसले तामाङ सुमदायलाई हेर्ने परम्परागत नजरिया नै परिवर्तन भएको छ । यो हामीजस्ता स्रष्टाका लागि सुखद कुरा हो ।’
नाटकलाई स्याङ्तानसहित लक्ष्मी रुम्बा र राबत (रामबहादुर तामाङ) लेखेका हुन् ।
नाटकमा रुपेश तामाङ, रोहनी लामा, सानुमाया तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, विकास लामा, सुनिल तामाङ, विजय नेपाल लगायतका कलाकारले अभिनय गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।