नेपालको विशाल जितमा बनेका कीर्तिमान

१ फागुन, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई २१४ रनले हराउँदा ५ वटा कीर्तिमान बनाएको छ ।
जितको लागि २२८ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अल आउट हुन पुग्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।
नेपालकी पूर्वकप्तान रुविना क्षेत्रीले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनको अविजित शतकीय इनिङ खेलिन् ।
पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् ।
पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए ।
नेपालको जितमा बनेका प्रमुख कीर्तिमान
पाँचौं विकेटका लागि विश्व कीर्तिमानी साझेदारी
रुविना र पुजाले गरेको १६६ रनको साझेदारी पाँचौं विकेटलाई महिला टि२० आई विश्वकै सर्वाधिक ठूलो हो ।
यसअघि अष्ट्रेलियाका ग्रेसी हारिस र आश्लिघ गार्डनरले भारतविरुद्ध २०२२ मा पाँचौं विकेटका गरेको १२९ रनको साझेदारी तोडेका हुन् ।
त्यस्तै नेपालका लागि कुनै पनि विकेटका लागि उच्च साझेदारी हो । सीता र इन्दुले २०२१ मा कतारविरुद्ध दोस्रो विकेटका लागि गरेको ८८ रनको साझेदारी महिला टि२० आईमा कुनैपनि विकेटका लागि उच्च थियो ।
सर्वाधिक ठूलो जित
२१४ रन नेपालको महिला टी-२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो ।
यसअघि नेपालले २०२१ मा कतारविरुद्ध ११९ रनको जित हात पारेको थियो ।
शतक हान्ने रुविना पहिलो नेपाली महिला खेलाडी
रुविना नेपालको महिला क्रिकेट इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो खेलाडी बनेकी छिन् ।
२००७ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाएको नेपालको महिला क्रिकेट हालसम्म शतक विहीन थियो ।
सीताले २०२१ मा कतारविरुद्ध बनाएको ८२ रन नै नेपाली ब्याटरको उच्च प्रदर्शन रहँदै आएको थियो ।
महिला टी–२० आईमा नेपालको उच्च योगफल
२२७ रन नेपाली महिला टी–२० आईमा एकै खेलमा बनेको उच्च योगफल हो ।
यसअघि २०२१ मा नेपालले कतारविरुद्ध १६४ रन बनाएको थियो ।
रुविनाको एकै खेलमा सर्वाधिक चौका र छक्का
रुविनाले शतक बनाउन १० चौका र ५ छक्का प्रहार गरिन् । यो नेपालबाट महिला टी–२० आईमा एकै जना ब्याटरले एउटा खेलमा प्रहार गरेका सर्वाधिक छक्का र चौका हो ।
यसअघि नेपालबाट सीताले कतारविरुद्ध २०२१ मा ७ चौका र ताञ्जानियाविरुद्ध २०२३ मा ४ छक्का हानेकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।