‘अव्यवहारिक कर’ खारेज गर्न माग गर्दै फिल्म प्रदर्शक र निर्माताले बुझाए अर्थमन्त्रीलाई ज्ञापन

काठमाडौं । ‘अव्यवहारिक कर’को बोझले व्यवसायमा टिक्न मुस्किल भएको भन्दै फिल्म प्रदर्शक र निर्माताले अर्थमन्त्री प्रकाशशरण महतलाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
अर्थ मन्त्रालयमा पुगेको प्रदर्शक र फिल्म निर्माताको डेलिगेसनले अर्थमन्त्री समक्ष मनोरञ्जन कर र चलचित्र विकास शुल्क खारेज गर्न माग गरेको हो ।
चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले विद्यमान कर प्रणाली अव्यवहारिक भएको र प्रदर्शक तथा निर्मातालाई व्यवसायमा टिक्न मुस्किल भएको भन्दै अर्थमन्त्रीलाई संयुक्त ज्ञापनपत्र बुझाइएको बताए ।
‘हामीले अहिलेको कर प्रणालीले कर्पोरेट हाउसलाई पनि फिल्ममा लगानीको लागि आकर्षित गर्न सकेका छैनौं । नयाँ आउने प्रदर्शक र निर्मातालाई पनि कठिन भएको कुरा मन्त्रीसँग राख्यौं’ महर्जनले अनलाइनखबरसँग भने ।
ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री महतले प्रदर्शक र निर्माताको गुनासोलाई आउँदो बजेटबाट सम्बोधन गर्नेतर्फ पहल गर्ने बताएका थिए । ‘मन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभयो । आउने बजेटबाट पहल गर्छु भन्नुभएको छ’ महर्जनले भने ।
फागुन १ गतेदेखि गोपिकृष्ण हल बन्द हुनु पनि करको भारकै कारण भएको उदाहरण दिँदै महर्जनले विद्यमान करको कारण टिक्न मुस्किल भएको बताए । ‘पसल भए पो छाड्न सजिलो हुन्छ । तर, हललाई कहाँ लगेर जानु’ उनले गुनासो पोखे ।
ज्ञापनपत्र बुझाउन महर्जनको नेतृत्वमा चलचित्र संघ र उपाध्यक्ष उदय सुब्बाको नेतृत्वमा निर्माता संघको टोली अर्थ मन्त्रालयमा पुगेको थियो । करको विरोध गर्दै हल प्रदर्शकले गतसाता एक दिन देशभरका फिल्म हल बन्द गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।