Main

‘फ्लोर क्रस’ भन्न मिल्दैन, मतदाता स्वतन्त्र हुन्छन् : थपलिया

२ फागुन माघ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभा चुनावमा फ्लोर क्रस भएको भन्न नमिल्ने बताएका छन् ।

११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की पराजित भएपछि सत्ता गठबन्धनका नेताहरुले कोशीमा फ्लोर क्रस भएको भन्ने गरेका छन् ।

बुधबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘फ्लोर क्रस’ भएको भन्नेहरुमाथि नै प्रश्न उठाए ।

‘…राष्ट्रिय सभा सदस्यको निर्वाचनमा हामीले एउटा गज्जबको भाष्य निर्माण गर्‍यौं । भन्यौं – राष्ट्रिय सभा सदस्य निर्वाचनमा विभिन्न ठाउँमा फ्लोर क्रस भयो, उनले प्रश्न गरे, ‘यो के हो ?’

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । तर प्रमुख आयुक्त थपलियाले तिनीहरु मतदाता भएकाले जुनसुकै चुनाव चिह्नमा मतदान गर्न स्वतन्त्र रहेको बताए ।

‘मतदाता हैनन् ती…?’ थपलियाले प्रश्न गरे, ‘कुनै दलको चिह्नबाट निर्वाचन जितेकै कारणले गाउँपालिकाको अध्यक्ष राष्ट्रिय सभाको सदस्य पदको निर्वाचनमा मतदान गर्न स्वतन्त्र हुँदैन, हुँदैन भने कुन कानुनले स्वतन्त्र हुँदैन ?’

राष्ट्रियसभा निर्वाचनमा मतदाताले आफू निर्वाचित भएको दलको उम्मेदवारलाई नै मत दिनुपर्ने बाध्यता नभएको पनि उनले बताए । ‘तर, हामीले भाष्य निर्माण गर्‍यौं– दलबाट निर्वाचन जितेको कार्यकर्ता कुनै पनि निर्वाचनको निम्ति त्यो दलको दास हुन्छ भन्ने स्थापित गर्न खोज्यौं’, थपलियाले भने ।

आयोगलाई यो विषयलाई गम्भीर लागेको पनि उनले दोहोर्‍याए । निर्वाचन आयोगको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदा समेत यो विषय समेटिएको प्रमुख आयुक्त थपलियाले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button