Main

रियल सोसिडाडसँग भिड्दा भविष्यको खाका खोज्दै पीएसजी

२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार राति रियल सोसिडाड र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टिमको तुलना गर्ने हो भने आकाश र पातलबीचको फरक छ । सोसिडाड रहेको शहर सान सेबास्टियनको जनसंख्याभन्दा पेरिसको स्थानीय लिग प्रणाली ‘लिग डे पेरिस इले-डे-फ्रान्स’मा खेलाडी धेरै छन् ।

फ्रेन्च क्लब पीएसजीको चमक र ग्ल्यामर धेरै छ । जुन स्पेनिस क्लब रियस सोसिडाडले भेट्न सक्दैन । तर च्याम्पिन्यस लिगमा पीएसजीको टिम विरुद्ध खेल्दा भने भविष्यका लागि खाका देख्न सक्छ ।

ट्रान्सफरमार्केटका अनुसार पीएसजीको च्याम्पियन्स लिग खेल्ने टिममा जम्मा तीन खेलाडी मात्र एकेडेमीबाट आएका छन् । प्रेसनेल किम्पेम्बे, वारेन जइरे एमेरी र एथान एमबाप्पे ।

रियल सोसिडाडमा भने एकेडेमीका १३ खेलाडी छन् । जुन च्याम्पियन्स लिगमा नकआउट चरणमा खेल्ने टिम मध्येकै सबैभन्दा बढी हो ।

सोसिडाडसँग बुधबार अन्तिम १६ को पहिलो लेगको खेल खेल्दा पीएसजीले युरोपियन सफलताको लागि अर्को कदम चाल्नेछ । क्लबले लामो समयदेखि युवा, क्षमतावान पेरिसियन खेलाडीहरु उनीहरुको पकडबाट गएको देखिरहेको छ ।

किंग्सले कोमन यसको सबैभन्दा ठूलो उदाहरण हुन् । कुनै समय पीएसजीको सबैभन्दा युवा खेलाडी रहेका उनलाई युभेन्ट्स जान रिलिज गरिएको थियो । सन् २०२० को फाइनलमा पीएसजी बायर्न म्युनिखसँग पराजित हुँदा उनै कोमनले बायर्नका लागि विजयी गोल गरेका थिए ।

पीएसजीको खातामा रहेका अरु सम्झनलायक नामहरुमा चेल्सीका फरवार्ड क्रिस्टोफर एनकुन्कु, एसी मिलानका गोलकिपर माइक माइगान, रियल मड्रिडका लेफ्ट ब्याक फरलान मेन्डी, एस्टन भिल्लाका विंगर माउसा डियाबी र युभेन्ट्सका टिमोथी वेह हुन् ।

लाउरेन्ट बोनादेई २०१२ मा युवा प्रशिक्षकको रुपमा पीएसजी पुगे, उनी विश्वस्त भएका थिए कि क्लबले एक दशकमा च्याम्पियन्स लिग उपाधि जित्न सक्छ ।

त्यति मात्र नभएर युवा प्रतियोगितामा पीएसजीको वर्चस्व देखेर उनले यो पनि विश्वास गरे कि आफ्नै एकेडेमी खेलाडीहरुबाट त्यो काम गर्न सकिन्छ ।

‘एथ्लेटिक विल्वाओले आफ्नै खेलाडीबाट के गरिरहेको छ त्यो मलाई मन परेको थियो । र पेरिसमा मसँग पेरिसियनहरु मात्र थिए’, उनले फुटमेरकाटोसँग भने । उनले आफूलाई नै भनेका थिए कि हामीहरु केही अद्भुत गर्न सक्छौं ।

सन् २००२ देखि २००७ सम्म पीएसजी युथ टिमका प्रशिक्षक रहेका यभेस गर्गाउड ९ वर्षीय कोमनलाई स्काउट गरेका थिए । तर स्थापित मार्गको अभावले यस्तो उपलब्धिलाई सफल हुनबाट रोकेको उनी विश्वास गर्छन् ।

‘तपाईँसँग एक कर्नरमा एकेडेमी टिम छ र अर्को कर्नरमा प्रो टिम । निर्देशक र व्यवस्थापक समय समयमा परिवर्तन भइरहन्छ । त्यसैले खेलाडीको विकास गर्न धेरै गाह्रो थियो ।’ उनले पेरिसियन ट्यालेन्ट नामक डकुमेन्ट्रीमा भनेका थिए, ‘तर यो सत्य हो कि च्याम्पियन्स लिगमा तपाईँ तीन वा चार खेलाडी पेरिस क्षेत्रबाटै पाउनु हुनेछ ।’

सन् २०११ मा कतार स्पोर्ट्स इनभेस्टमेन्टले क्लब खरिद गरेपछि पीएसजीले ९ लिग वान उपाधि जितेको छ । तर युरोपियन सफलताबाट अझै टाढा रहेको क्लबले यो बीचमा ७ म्यानेजर नियुक्त गरिसकेको छ र त्यमसा पनि पछिल्लो चार वर्षमा चार म्यानेजर परिवर्तन भइसकेका छन् ।

रियल सोसिडाडमा अवस्था फरक छ । जहाँ इमानोल अल्गुएसिल ६ वर्षदेखि प्रशिक्षक छन् । त्यसअघि उनले रिजर्भ र युथ टिम हेरेका थिए । उनले स्थिरता र सफलता दुवै प्रदान गरिसकेका छन् र कोभिडका कारण २०२१ मा भएको कोपा डेल रेको उपाधि जिताएका थिए ।

क्लबको जुबियता एकेडेमीबाट आएका सबैभन्दा राम्रा खेलाडी मिकेल ओजाबायलले केही वर्षअघि मात्र क्लब कठिन अवस्थामा रहेको गत सिजन बताएका थिए ।

तर क्लबले प्रोसेस अनुसार काम गर्दा अहिले सफलता देखिएको उनले बताए ।

ला रियलको एकेडेमी खेलाडीहरुमा निर्भरता दुवै आर्थिक आवश्यकता र १४ हजार भन्दा बढी सदस्यहरू रहेको क्लबको ‘सोसियो’ द्वारा निर्देशित दर्शनबाट जन्मेको  हो । ट्रान्सफरमार्कटका अनुसार, उनीहरूले ला लिगामा रियल मड्रिड र बार्सिलोना पछि तेस्रो-सबैभन्दा मूल्यवान टोली बनाएका छन् ।

जुबियतामा रहेका ८० प्रतिशत युवा खेलाडीहरु स्थानिय गिपुज्कोअ क्षेत्रबाट आएका हुन् । र केही अपवाद क्षमतावान खेलाडीलाई अन्यत्रबाट पनि आमन्त्रण गरिन्छ । एन्टोनी ग्रीजमन पनि त्यस्तै एक उदाहरण हुन् ।

अहिले सोसिडाडको टिममा जापानका ताकेफुसा कुबो छन् । यस्तै डेभिड शिल्भा र अलेक्जान्डर आइस्याकले यसअघि नै क्लबका लागि खेलिसकेका छन् ।

सीआईइएस फुटबल अब्जर्भेटरीको डेटा अनुसार जारी सिजनको पहिलो भागमा सोसिडाडले क्लबमा प्रशिक्षण गरेको ४२.१ प्रतिशत खेलाडी खेलाएको छ भने पीएसजीले जम्मा ६.५ प्रतिशत मात्र खेलाएको छ ।

अवसर कम पाउनु पीएसजीका युवा खेलाडीका लागि नयाँ कुरा होइन् । नेमार र लिओनल मेसी जस्ता स्टार खेलाडी अनुबन्ध हुँदा पनि त्यसले एकेडेमीको ट्यालेन्टमा असर गरेको थियो ।

पीएसजीले अन्य लिगहरूमा पनि खेलाडी प्रलोभित हुने सम्भावनाहरू देखेको छ । विशेष गरी बुन्डेसलिगामा । किनभने पीएसजीका पूर्व खेलकुद निर्देशक लियोनार्डोले खेलाडीहरुले अन्त कतै ‘स्वर्ग’ फेला पार्ने बताएका थिए ।

ग्रेटर पेरिस क्षेत्र यस्तो घनी आबादी भएको प्रतिभाको खानी हो कि । जहाँ सन् २०२२ को विश्वकपमा लन्डन र साओ पाउलोमा जन्मेकाभन्दा धेरै खेलाडी ग्रेटर पेरिसमा जन्मिएका थिए ।

यसको मतलब यस क्षेत्रका धेरै सम्भावनाहरू कहिल्यै पीएसजीको एकेडेमीमा पुग्न सक्दैनन् । फ्रान्सकै अन्य क्लब र अन्यत्र धाउनुपर्छ ।

उदाहरणका लागि, पार्क डेस प्रिन्सेसबाट ४० मिनेट ड्राइभ गरेर पुग्ने ठाउँमा जन्मे पनि आर्सेनल डिफेन्डर विलियम सलिबा ३०० माइल दक्षिणमा सेन्ट-इटिनको एकेडेमीमा पुगे ।

जबकी पेरिसमा जन्मेका लिभरपुलका सेन्टर-ब्याक इब्राहिमा कोनाटे सोचाक्स र बार्सिलोनामा अनुबन्ध भएका जुल्स कोन्डे बोर्डेमा पुगे ।

यो कुनै नयाँ घटना होइन । पउल पोग्बा र एन्थोनी मार्शल अन्य सम्भावित स्टारहरु थिए जसले पेरिस छाडे । तर अब भने पीएसजी यस प्रवृत्तिलाई उल्टाउन आफ्नो आर्थिक पक्षलाई प्रयोग गर्दैछ ।

मोनाकोमा सामेल हुनुअघि फ्रान्सको प्रसिद्ध क्लेयरफोन्टेन एकेडेमी मार्फत आएका केलियन एमबाप्पेसँगै, पीएसजीले हालैका सिजनहरूमा पेरिसियन रान्डल कोलो मुआनी र नोर्डी मुकिलेलाई अनुबन्ध गरेको छ । त्यसमा उस्माने डेम्बेले, लुकास हर्नान्डेज र ब्राडली बारकोला पनि पेरिसको टिममा थपिएका छन् ।

पीएसजीका प्रमुख राजस्व अधिकारी मार्क आर्मस्ट्रङले प्रशंसकहरूले अहिले पीएसजीसँग रहेको टोली र यसको सन्तुलन र फ्रान्सेली खेलाडीहरूको संख्यालाई माया गरिरहेको बताएका छन् ।

आर्मस्ट्रङले पीएसजीको नयाँ प्रशिक्षण केन्द्रलाई सबै क्लबका टोलीहरूका लागि आधार प्रदान गर्ने र पहिलो टोली र एकेडेमीलाई एकसाथ नजिक ल्याउन रणनीतिलाई संकेत गरे ।

‘हामीसँग वारेन जाइरे-एमेरी छन्, जो अहिले संसारमा नभए पनि युरोपका सबैभन्दा राम्रो खेलाडीहरूमध्ये एक हुन्,’ उनले थपे, ‘हामी भविष्यमा यस्ता अझ धेरै खेलाडीहरू चाहन्छौं ।’

यदि पीएसजीले रियस सोसिडाडलाई नजिकबाट हेर्ने हो भने, मुख्य सिकाई ‘धैर्य’ नै हो ।

‘त्यहाँ धेरै ठाउँहरू छन् जहाँ मानिसहरूले हामीले आफैंलाई तोड्ने प्रक्रियाहरूमा धेरै पैसा खर्च गरिरहेका छन्,’ रियल सोसिडाडका खेलकुद निर्देशक रोबर्टो ओलाबेले भने, ‘युवा खेलाडीहरूका लागि विकास कार्यक्रमहरू गर्ने र उनीहरूलाई व्यावसायिक नैतिकतामा आधारित तालिम दिने र व्यावसायिक फुटबलको विश्वसँग व्यवहार गर्ने सन्दर्भमा धैर्यता तपाईंको प्रतिबद्धता र जिम्मेवारीसँग सम्बन्धित छ ।’

‘किनकी फुटबल खेलाडीलाई समय चाहिन्छ,’ उनले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button