Main

नगरपालिकाको ६ वटा वडालाई छुट्टै गाउँपालिका बनाउने साँफेबगरको निर्णय

६ फागुन, काठमाडौं । अछाममा साँफेबगर नगरपालिकाले आफ्नै नगरपालिका फुटाउने निर्णय गरेको छ । २० माघ भएको नगरसभाले १४ वटा वडा मध्ये ६ वटा वडा छुट्याउने निर्णय गरेको नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बताए ।

‘६ वटा वडाले नगरपालिकाको मापदण्ड नपुगेको, विकट भएको भन्दै बारम्बार छुट्याउन माग गर्दै आएका थिए । सोहि अनुसार नगर सभाले प्रदेश सरकार र संघीय सरकारमा सिफारिस गरेका हौं,’ नगर प्रमुख कुँवरले अनलाइनखबरसँग भने ।

कुँवरका अनुसार वडा नम्बर ९, १०, ११, १२, १३ र १४ ले छुट्याउन माग गरेका हुन् । नगरपालिकाले ६ वटा वडालाई मिलाएर खप्तड आरक्षण गाउँपालिका बनाउन निर्णय गरेको हो ।

‘हाम्रो नगरपालिका बन्दा नै सबै गाविसहरु मिलेर बनेको हो । २०७३ सालमा १४ वटा गाविस मिलेर नगरपालिका बनेको थियो तर नगरपालिकाको सुविधा नभएको र केन्द्रमा आउन असहज भएकोले विरोध हुँदै आएको थियो,’ उनी भन्छन् ।

अछामका बैजनाथ, जाल्पादेवी, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट गाविसलाई गाभेर नगरपालिका बनाइएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button