पोखरामा फागुन १४ गतेदेखि ‘रिफन्ड’ नाटक मञ्चन

१० फागुन, पोखरा । पोखरामा हंगेरियन नाटक ‘रिफन्ड’ मञ्चन हुने भएको छ । हंगेरियन लेखक फ्रिज क्यारेन्थीले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका छन् । नाटकलाई परिवर्तनले निर्देशन गरेका छन् ।
नाटक पोखरा थियटरको प्रस्तुतिमा फागुन १४ गतेबाट गैह्रापाटनमा रहेको गन्धर्व नाटक घरमा नाटक मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए । नाटक फागुन ३० गतेसम्म चल्नेछ ।
कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको यो नाटक विद्यार्थी, शिक्षक, अभिभावकसहित नाटकपारखीका लागि उपयुक्त हुने परिवर्तनले जानकारी दिए ।
निर्देशक परिवर्तनले कमेडी जनरामा निर्माण हुने यो नाटकले सन्देश समेत बोकेको बताए । ‘नाटकले घोकन्ते शिक्षाभन्दा व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिएको छ’, उनले भने ।
नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुसन पौडेल, रोशनी रामदामले अभिनय गरेका छन् ।
बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि ३ सय र ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।