Main

बैंकिङ संगठनहरू भन्छन् – राज्यको धरपकडले बैंकिङ क्षेत्र आतंकित

१६ फागुन, काठमाडौं । बैंकरहरुले राज्यको धरपकले बैंकिङ क्षेत्र आतंकित बनेको बताएका छन् ।

बुधबार वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघसहित डेभलमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवम् पक्राउले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको बताएका हुन् ।

यसबाट बैंकिङ क्षेत्रका कर्मचारीहरुको मनोबल समेत खस्कन गएका हुँदा राज्यका सम्बन्धित निकायहरु यस विषयमा गम्भीर भइदिन विज्ञप्ति मार्फत उनीहरूले आग्रह गरेका छन् ।

बैंकिङ कसुरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’ हुनु पर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएको भन्दै बैंकर्सले असन्तुष्टि व्यक्त गरेका छन् ।

यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भिर असर पु¥याएको निष्कर्ष बैंकर्सको छ । जसले बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने भन्दै उनीहरूले ध्यानाकर्षण गराएका छन् ।

‘बैंक तथा वित्तीय संस्थाहरुले चल/अचल सम्पत्ति बाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही कर्जा प्रवाह गर्ने गर्दछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘समस्त ग्राहकहरुको हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरुको बचतलाई सुरक्षित गर्दै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पूँजी निर्माणमा यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्धान्तलाई अक्षरस पालना गर्दै अगाडि बढीरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको हुनुपर्ने माग बैंकर्सले गरेका हुन्

‘बैंकहरुले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही संस्थाहरुको आ–आफ्नै नीति तथा कार्यविधि बमोजिम आ–आफ्नो अधिकार क्षेत्र भित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा त्यसमा संलग्न हुने सबै कर्मचारी तथा संचालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएका छौं ।’

यदि कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा त्यमसा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कारवाही विगतमा पनि भएको र अब पनि हुनुपर्नेमा द्विविधा नरहेको स्पस्ट पारेका छन् । ‘प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरु तथा बैंकिङ क्षेत्रको मान्य सिद्धान्तहरुको अधिनमा रही काम गरि रहेका छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘यस्तोमा बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाईनु हुन्न ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button