प्रचण्डको परिवारमोह : राष्ट्रियसभा अध्यक्षमा भाइ उम्मेदवार

२७ फागुन, काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकले प्रचण्डका भाइ नाता पर्ने दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रियसभाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार भोलि सोमबार उम्मेदवारी दर्ता हुनेछ भने पर्सि निर्वाचन हुनेछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको छ । तर सत्ता गठबन्धनको प्रष्ट बहुमत भएकाले माओवादीको उम्मेदवारको जित पक्का जस्तै छ ।
त्यसैले लामो कार्यकाल भएकालाई राष्ट्रिय अध्यक्ष बनाउँदा संवैधानिक परिषद्मा पनि लामै समय प्रतिनिधित्व रहने तर्क माओवादी नेताहरुले गरेका थिए ।
राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल वा भर्खरै चुनाव जितेर आएकामध्ये कसैलाई उम्मेदवार बनाउनुपर्ने मत माओवादीभित्र थियो । तर प्रचण्डकै चाहना अनुसार दाहाललाई उम्मेदवार बनाउने निर्णय भएपछि पार्टीपंक्तिमा असन्तुष्टि देखिएको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकमा हालकी राष्ट्रियसभा उपाध्यक्ष अर्यालसँगै मायाप्रसाद शर्मा, झक्कु सुवेदी, रेणु चन्दको नाम पनि छलफलमा आएको थियो ।
मायाप्रसादको कार्यकाल २ वर्ष मात्र बाँकी छ । उर्मिला र दाहालको चार वर्ष बाँकी छ भने भर्खर चुनाव जितेर आएका झक्कु सुवेदी र रेणु चन्दको कार्यकाल ६ वर्ष छ ।
तर पार्टी उपाध्यक्षहरु पम्फा भुसाल, अग्नि सापकोटा लगायतले अवसरबाट बञ्चित हुँदै आएको भन्दै दाहाललाई उम्मेदवार बनाउने प्रस्ताव गरे । ‘अध्यक्षले प्रस्ताव गर्ने क्रममा चार/पाँच जनाकै नाम राख्नुभयो’, एक पदाधिकारीले भने, ‘तर बोल्ने क्रममा उपाध्यक्षहरूबाट निरन्तर अवसरबाट बञ्चित हुँदै आउनुभएको छ, नारायण दाहालजीलाई नै अध्यक्षको उम्मेदवार बनाऔं भनेर धारणाहरू आए । अरुले पनि प्रतिवाद गरेनन् ।’
दाहाल ०७८ माघमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए । तर माओवादी पदाधिकारीहरुले प्रचण्डको चाहनाअनुसार राष्ट्रपतिबाट मनोनित भएका दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरेका छन् ।
अटुट परिवार मोह
माओवादीभित्र नेताहरू परिवार केन्द्रित भएको भन्दै लामो समयदेखि आलोचना हुँदै आइरहेको छ । सबभन्दा धेरै आलोचना खेप्नेमा प्रचण्ड स्वयं छन् ।
गत साउनमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमै केन्द्रीय सदस्यहरूले प्रचण्डलाई लक्षित गरी ‘सामन्तवादको किल्ला बालुवाटारमा सरेको’ भनेर आलोचना गरेका थिए । तर प्रचण्डले एकपछि अर्को अवसर परिवारमा केन्द्रित गरिरहेका छन् ।
विधान अधिवेशनलगत्तै १० फागुनमा बसेको स्थायी कमिटी बैठकबाट नयाँ कार्य विभाजन गर्ने क्रममा पनि प्रचण्डले आफ्ना परिवारका सदस्य अट्ने गरी जिम्मेवारी तोके । बुहारी बिना मगरलाई सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज बनाए ।
प्रचण्डकी बुहारी बिना मगर
त्यसबेला नै उनले भाइ नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्जको प्रस्ताव गरेका थिए । कार्यविभाजनसँग असन्तुष्ट रहेका उपमहासचिव जनार्दन शर्माले फरक मत नै राखे । शर्माको फरक मतपछि दाहाललाई सहइन्चार्ज बनाएनन्, तर बिनालाई सुदूरपश्चिमको सहइन्चार्ज कायम राखे ।
जबकी सुदूरपश्चिमबाट एक मात्र स्थायी समिति सदस्य रहेका खगराज भट्टलाई संसदीय दलको नेता र इन्चार्ज दुबै जिम्मेवारीबाट हटाइएको थियो ।
गत वर्ष कान्छी छोरी गंगा दाहालका श्रीमान जीवन आचार्यलाई कोशी प्रदेशको मन्त्री बनाउन प्रचण्डले लिएको कदम पनि कम विवादित थिएन । एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री हुँदा गत वर्षको २६ पुसमा प्रचण्डकै चाहनाले गर्दा आचार्य पर्यटन, वन तथा वातावरण मन्त्री बने । तर त्यो गठबन्धन लामो समय टिकेन । केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेशमा पनि त्यसको असर पर्यो ।
कांग्रेस नेतृत्वमा अर्को गठबन्धन सरकार बन्दा आचार्यको मन्त्रालय बढुवा भयो । त्यतिबेला ३१ दिन सरकार बाहिर बसेका आचार्यलाई तत्कालीन मुख्यमन्त्री उद्धब थापाले गत २४ असारमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरे । जबकी उनीभन्दा सिनियर नेताहरूले जिम्मेवारी नपाएको भन्दै पार्टी नै परित्याग गरे भने कतिपय निष्क्रिय समेत बनेका छन् ।
प्रचण्ड र ज्वाईं जीवन आचार्य ।
उनै ज्वाईं आचार्यका लागि प्रचण्डले अघिल्लो वर्षको आमचुनावमा टिकट नै साटफेर गरेका थिए । सत्ता गठबन्धनबीच भागबण्डा हुँदा सोलुखम्बु माओवादीको भागमा परेको थियो ।
तर प्रचण्डले सोलुखम्बु कांग्रेसलाई दिएर आचार्यलाई सहमज हुने गरी मोरङ रोजे । त्यसमा पनि ज्वाईलाई उम्मेदवार बनाए । माओवादीले सोलु छाडेर मोरङ रोजेपछि कांग्रेस नेता बलबहादुर केसीले प्रचण्डबाट न्याय पाएको सार्वजनिक टिप्पणी नै गरेका थिए ।
पार्टीभित्र प्रचण्डमाथि छोरी गंगालाई सचिवालयमा राखेर अरूलाई अविश्वास गरेको भनेर समेत आलोचना हुने गर्छ । गंगाको विषयमा पार्टीभित्र मात्रै होइन, बाहिर पनि उत्तिकै आलोचना भइरहेको हुन्छ । प्रचण्ड भने यस्तो आलोचनालाई व्यवस्था माथिकै प्रहार भनेर जावफ दिने गरेका छन् । प्रचण्डले राज्य व्यवस्था समितिमा जवाफ दिने क्रममा छोरीको बचाउ गर्दै ‘वर्तमान व्यवस्था र संविधान कमजोर बनाउने प्रयास’ भनेर प्रतिवाद गरेका थिए ।
गंगाले स्वकीय सचिवको हैसियतमा बालुवाटारको नेतृत्व गर्दा माओवादी केन्द्रभित्रै चर्को असन्तुष्टि छ । पार्टी उपमहासचिव हरिबोल गजुरेलले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजीनामा दिनुको एउटा कारण नै गंगा रहेको नेताहरू बताउँछन् ।
प्रधानमन्त्री प्रचण्डका अर्का छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको लगातार दोस्रो कार्यकाल मेयर छिन् । आफ्नो राजनीतिक करियरसँगै सिंगो माओवादी आन्दोलनलाई दाउमा राखेर छोरीलाई भरतपुरको मेयर दिलाएको आरोप प्रचण्डमाथि लाग्ने गरेको छ ।
छोरीलाई जिताउन २०७४ सालमा मतपत्र च्यातेर उपनिर्वाचनबाट मेयर जिताएको आरोप समेत खेपेका प्रचण्डले रेनुका लागि कांग्रेससँगको गठबन्धनमा चर्को असन्तुष्टि हुँदा पनि २०७९ मा पुनः उम्मेदवार बनाएका थिए ।
माओवादीका एक नेता प्रचण्डको व्यवहारले लाज पनि लजाउने टिप्पणी गर्छन् । ‘पार्टी नेतृत्वको यस्ता निर्णयले लाजले पनि लाज मान्न थाल्यो । सबै ठाउँमा आफ्नै परिवारका सदस्यलाई मात्रै योग्य देख्ने, आफूलाई पुगेपछि मात्रै अरूको योग्यता पुग्ने । जनताले के सोच्छन्, अरूले के सोच्छन् भनेर माओवादीले सोच्नै छाडेछन् भन्ने जस्तो भयो’ उनले भने ।
६ वर्ष कार्यकाल भएका राष्ट्रियसभा सदस्यलाई अध्यक्ष बनाउनु उपयुक्त हुने उनको भनाइ छ । ‘यदि त्यो संवैधानिक पद लामो समय राख्ने हो भने ६ वर्ष जसको छ उसलाई दिए हुन्थ्यो । अथवा उर्मिलालाई नै अपग्रेड गरेको भए हुन्थ्यो । उपाध्यक्ष एमालेलाई जिम्मा लगाई सकियो । अब उनको उपाध्यक्ष पद पनि गयो, पार्टीलाई पनि त्यसले फाइदा नहुने भयो’ ती नेताले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।