Main

जीवन चलाउनेको कुरालाई तथ्यका रूपमा लिन सकिंदैन : आईजीपी कुँवर

१४ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सुन तस्करी प्रकरणका फरार आरोपी जीवन चलाउनेले सञ्चारमाध्यममा सार्वजनिक गरेका अभिव्यक्तिलाई तथ्यका रुपमा नसकिने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार उनले चलाउने पक्राउ नपरेसम्म उनको कुरालाई तथ्यका रुपमा लिन नसकिने बताएका हुन् ।

चलाउनेले विभिन्न सञ्चारमाध्यमहरुसँग कुरा गर्दै हालका सीआईबी प्रमुख श्याम ज्ञवालीले आईजीपी बन्ने प्रतिस्पर्धामा रहेका बेला दुई करोड रुपैयाँ मागेको दाबी गरेका थिए ।

उनले सुन प्रकरण अनुसन्धानमा खटिएका एसपी सञ्जयसिंह थापा र डीएसपी दुर्गा दाहालले पनि ६० लाख रुपैयाँ मागेको तर, नपाएपछि आफूलाई प्रतिवादी बनाएको दाबी गरेका थिए ।

‘तथ्यविना सतहमा ल्याउने र सम्बन्धित व्यक्तिको प्रतिष्ठा, इज्जतमा ध्यान नपुर्‍याएका कारण समस्या आएका छन्, सम्बन्धित व्यक्ति पक्राउ नपरेसम्म ती कुराहरुलाई तथ्यका रुपमा लिने अवस्था छैनन्’, कुँवरले भने ।

सुन तस्करीबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको जाँचका क्रममा चलाउनेलाई सीआईबीले बयान लिएर समेत छाडेको पाइएको थियो ।

एसपी सञ्जयसिंह थापाको कार्यकक्षमा ल्याएर बयान लिएपछि उनी छाडिएका थिए । पछि बयान कागजसमेत च्यातिएको पाइएको थियो ।

यसमा संलग्न भएको आरोपमा सीआईबीकी निवर्तमान प्रमुख एआईजी किरण बज्राचार्य, एसपी थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवर पनि कारबाहीमा परेका छन् ।

यो बीचमा एआईजी श्याम ज्ञवालीको कल डिटेल रेकर्ड सार्वजनिक भएकोबारे समेत छानबिन हुने प्रहरी महानिरीक्षक कुँवरले बताएका छन् । ‘सीडीआर सार्वजनिक हुनु गम्भीर विषय हो, यसबारे आन्तरिक छानबिन गर्छु’, उनले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button