Main

सचिवहरुको जिम्मेवारीमा व्यापक हेरफेर, को कहाँ भए सरुवा ?

काठमाडौं । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेअनुसार सचिवहरुलाई पत्र दिने काम धमाधम भइरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको जल तथा ऊर्जा आयोगमा सरुवा भएको छ । आयगकी सचिव सरिता दवाडीको सिँचाइ सचिवका रुपमा ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सचिवका रुपमा गोपालप्रसाद सिग्देल फर्किएका छन् ।

उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको स्वासथ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या सचिवका रुपमा सरुवा भएको छ । बुर्लाकोटी सचिव भएपछि पहिलोपटक मन्त्रालयका सचिवको जिम्मेवारी पाएका हुन् ।

वित्त आयोगका सचिव कृष्णबहादुर राउत उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयको उद्योग हेर्ने सचिवका रुपमा सरुवा गरिएको छ । उद्योग सचिव रहेका मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालयको सचिव बनाइएको छ ।

मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयको वाणिज्य मामिला हेर्ने सचिवका रुपमा सरुवा भएको छ ।

बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ ।

वाणिज्य सचिव रहेका नारायणप्रसाद शर्मा दुवाडीसहित अन्य सचिवहरुको पनि सरुवा भएपनि कुन–कुन निकाय र मन्त्रालयमा सरुवा भयो भन्ने खुल्न बाँकी छ ।

‘केही मन्त्रालय र निकायमा नाम टुंग्याएर पत्र बनाउन बाँकी छ, तर ठूलो संख्यामा सचिहरुको जिम्मेवारी हेरफेर भएको छ,’ मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button