एमाले र रास्वपाका नेताले सहकारी ठगीमा छानबिन समिति बन्न दिएनन् : नेता महर

२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीमा छानबिन समिति गठन हुन नदिनुले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि प्रश्न उब्जिएको बताएका छन् ।
शनिबार विराटनगरमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद भेलामा उनले एमाले र रास्वपाका अधिकांश नेता सहकारी ठगी प्रकरणमा मुछिएकाले छानबिन समिति गठन हुन नदिएको टिप्पणी गरे ।
‘विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानविनका लागि आवाज उठाइरहेका छौं। तर, सरकार अटेरी गरिरहेको छ। किनकि सरकारमा प्रधानमन्त्री भन्दा बलिया अपराधिक मानसिकता भएका व्यक्तिहरू छन्’, उनले भने ।
अपराधमा संलग्न मन्त्रीहरूले आफूलाई जोगाउन चलखेल गर्ने बाहेक उनीहरूबाट अन्य कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको महरको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।