तारेभीर घटना : एकतर्फी प्रेमपछि हत्या आरोपमा पक्राउ परेका रुपेन्द्र जेल चलान

२८ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या गरेको आरोपमा पक्राउ परेका युवक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
सुष्माको हत्या गरी शव गाडेको आरोपमा पक्राउ परेका सोही ठाउँका २१ वर्षीय रुपेन्द्र लामा बुधबार कारागार चलान भएका हुन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई कारागार चलानको आदेश दिएको हो ।
२४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा मानिसको शव रहेको भन्दै प्रहरीलाई खबर आएको थियो ।
उक्त शव सुष्माको भन्दै आफन्तले सनाखत गरेपछि प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रुपेन्द्रलाई हत्या आरोपमा ३ चैतमा पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा रुपेन्द्रले सुष्मालाई एकतर्फी प्रेम गर्ने गरेको खुलेको थियो ।
आफूले प्रेम गर्दा पनि सुष्माले वास्ता नगरेको भन्दै सोही रिसमा योजना बनाएरै रुपेन्द्रले हत्या गरेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले बताएका थिए ।
हत्यापछि बाटोबाट करिब ५० मिटर तल लगेर रुपेन्द्रले शव गाडेका थिए । प्रहरीले रुपेन्द्रको घरबाट शव गाड्न प्रयोग भएको कुटो, कुटो बोक्न प्रयोग गरेको झोला, सुष्माको किताब र मोबाइलसमेत बरामद गरेको थियो ।
सुष्मा २२ माघमा घरबाट कलेज गएदेखि फर्केकी थिइनन् । एक महिनापछि २४ फागुनमा उनको शव भेटिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।