सी डिभिजन लिगमा पुल्चोकको पहिलो हार

१२ वैशाख, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको पुल्चोक स्पोर्ट्स क्लबले पहिलो हार ब्यहोरेको छ ।
लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा मनोहरा युनाइटेड क्लबले पुल्चोकलाई ४-१ ले पराजित गरेको छ । यस हारपछि पुल्चोकको तीन खेलको अपराजित यात्रा समेत टुंगिएको छ भने शीर्ष स्थानमा उक्लने अवसर समेत गुमाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनोहरालाई जित दिलाउन सञ्जय श्रेष्ठले २ तथा विवश मगर र लालबहादुर थापा मगरले समान एक गोल गरे ।
खेलको २४ औं मिनेटमा सञ्जयले गोल गर्दै मनोहरालाई पहिले अग्रता दिलाएका थिए ।
पहिलो हाफमै पुल्चोकले बराबरी गर्ने अवसर पाएको थियो । तर सलिल ढकालले पेनाल्टीमा गोल गर्न नसकेपछि पुल्चोकले अवसर गुमायो ।
५१औं मिनेटमा विवशले गोल गर्दै मनोहराको अग्रता दोब्बर पारे । ७८औं मिनेटमा लालबहादुरले गोल गर्दै मनोहरालाई ३-० को अग्रता दिलाए । ८० औं मिनेटमा पुल्चोकका लागि कप्तान श्यारब तामाङले गोल फर्काएका थिए । तर ८९औं मिनेटमा सन्जयले व्यक्तिगत दोस्रो गोल गरेपछि मनोहराले पुल्चोकमाथि शानदार जित निकालेको हो ।
पुल्चोकको हारपछि अब लिगमा आरसी ३२ फुटबल एकेडेमी मात्र एक्लो अपराजित टोलीको रुपमा छ । चार खेलबाट आरसी ३२ फुटबल एकेडेमी १० अंक जोडेको शीर्ष स्थानमा छ । समान खेलबाट ९ अंकसहित पुल्चोक दोस्रो स्थानमा छ ।
चौथो चरणको खेल सकिँदा रानीवन स्पोर्ट्स क्लब, स्वयम्भु क्लब, खालीबारी युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब र सामाजिक युथ क्लबले जित निकाल्न सकेका छैनन् ।
लिगमा अहिलेसम्म पुल्चोकका कप्तान श्यारब तामाङले सर्वाधिक ५ गोल गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।