Main

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

१४ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा चीनमा भएको अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले ऐतिहासिक नतिजा निकालेको छ ।

प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा पदक जितेको हो ।

चीनको जियाङ्सु प्रान्तको जियानझिङमा भएको प्रतियोगितामा नेपालले सान्सौं विधातर्फ एकलमा २ रजत र २ कास्य पदक जितेको हो ।

यस्तै थाउलो विधाको एकल र टिम इभेन्टमा पनि नेपालले समान १ कास्य पदक जितेको हो ।

सान्सौं विधाको पुरुष ८० केजी तौल समूहमा सञ्जीव महर्जन र सोही विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुङले रजत पदक जितेका हुन् ।

बिहीबार भएको खेलमा सञ्जीव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग फाइनलमा पराजित भएको चीनबाट उसु प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिए ।

स्वर्ण पदक ल्याउन नसके पनि सञ्जीव र विद्या दुबै आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौ विश्वकपमा छनोट हुन सफल भएको पनि श्रेष्ठले जानकारी दिए ।

विद्याले बंगलादेशी खेलाडी मोष्ट शिखा खातुनलाई सेमिफाइनलमा ११–३, ७–३, १२–१, १०–५ र ४–१ ले हराउँदै फाइनलमा पुगेकी थिइन्  । तर फाइनलमा पराजित भइन् । यस्तै सञ्जीवले सेमिफाइनलमा सेनेगलका खेलाडीलाई स्तब्ध पारेका थिए ।

सान्सौंतर्फ नेपाल यसअघि नै बुधबार २ वटै कास्य पदक जितेको थियो ।

जसमा लुमन्ती श्रेष्ठले महिला ६५ केजी र किरण सिंह साउदले ९० केजी तौल समूहमा कास्य पदक जितेका थिए । दुवै खेलमा सेमिफाइनलमा टर्कीका खेलाडीसँग सेमिफाइनलमा पराजित भएका थिए ।

यस्तै प्रतियोगिताको अन्तिम दिन बिहीबार थाउलो विधाको नान्छ्वानमा नेपालका दिपक हमालले ९.६६३ स्कोरसहित कास्य पदक जितेका हुन् ।

त्यस्तै थाउलोतर्फकै तुईलिन विधाको टिम इभेन्टमा पुरुषतर्फ नेपालका विजय सिन्जाली, दिपक हमाल र राजीव तामाङ पुरुष टिम इभेन्टमा कांस्य थपे ।

यस्तै विजय सिन्जालीले छान छुवान बिधामा २९ जना प्रतिस्पर्धी टप ५ मा पर्न सफल, निमा मगर नान छान विधामा टप ४ मा पर्न सफल भएको प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिए ।

नेपाल उसु महासंघका महासचिव तथा नेपाली टोलीका नेतृत्वकर्ता ल्हाक्पा छिरिङ लामाले नेपाली खेलाडीले चीनमा ऐतिहासिक नतिजा निकालेको प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा २ रजत र ४ कास्य जित्नु नेपाली उसुका लागि निकै उपलब्धिमूलक रहेको उनले बताए । नेपाली टोली सोमबार स्वदेश फर्किने प्रशिक्षक श्रेष्ठले जानकारी दिए ।

यो प्रतियोगिताबाट उत्कृष्ट नतिजा ल्याउने खेलाडीले आगामी अक्टोबरमा जापानमा हुने थाउलो र नोभेम्बरमा अष्ट्रेलियामा हुने सान्सौको विश्वकपमा स्थान बनाएका  छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button