Main

टेलिभिजन होस्ट बने उद्यमी सौरभ ज्योति, हिमालय टिभीबाट टक शो प्रसारण

काठमाडौं । उद्यमी तथा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति भ्लगिङमा पनि सक्रिय छन् । भ्लगमार्फत उनले युवापुस्तामा आशा र प्रेरणा छर्ने काम गर्छन् । यतिबेला भने उनी टेलिभिजन होस्ट बनेका छन् ।

उनले होस्ट गरिरहेको टिभी टक शो ‘३६० लिडरसिप विथ सौरभ ज्योति’को प्रसारण हिमालय टिभीमा सुरु भएको छ । यो शोमा विभिन्न क्षेत्रमा स्थापित र योगदान पुर्‍याएका अग्रज व्यक्तिलाई बोलाएर छलफल गरिन्छ ।

पहिलो एपिसोडमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र दोस्रोमा जनमत पार्टीका अध्यक्ष सीके राउत अतिथि थिए । यो शो दोस्रो एपिसोडसम्म प्रसारण भइसकेको छ । तेस्रोमा टेलिभिजन पर्सनालिटी भूषण दाहाल र चौथोमा उपसभामुख इन्दिरा रानामगर अतिथि हुने जनाइएको छ ।

शोमा नेतृत्वबारे छलफल हुने निर्देशक लव कार्कीले बताए । ‘नेपालमा कस्तो नेतृत्व चाहिएको हो ? कस्तो नेतृत्वले काम गर्छ ? भविष्यमा कस्तो नेतृत्व भयो भने देशलाई राम्रो हुन्छ भन्नेबारेमा आफ्नो क्षेत्रमा स्थापित लिडरलाई लिएर छलफल चलाउँछौं,’ शोबारे निर्देशक कार्कीले भने ।

२८ वर्षदेखि टेलिभिजन विधामा सक्रिय कार्कीले भने, ‘सौरभ ज्योतिले मिडियामार्फत नेतृत्व खोजीको छलफल र अन्तरक्रियालाई अघि बढाउने जमर्को गर्नुभएको हो ।’ वाउ म्यागजिनकी प्रधानसम्पादक चारु चाडाको अवधारणा र कार्कीको निर्देशनमा यो शो तयार भएको हो ।

यो टक शो १२ एपिसोडसम्म तयार हुने जनाइएको छ । ‘दोस्रो एपिसोडसम्मको फिडब्याक राम्रो छ,’ निर्देशक कार्कीले भने । यो कार्यक्रम प्रत्येक बिहीबार राति साढे ९ बजे हिमालय टिभीमा प्रसारण हुन्छ । पुनः प्रसारण शुक्रबार बेलुका ४ बजे हुन्छ । ३६० म्यागजिनको युट्युब च्यानलबाट यो शो स्ट्रिमिङ हुन्छ ।

शोको निर्माण मिडिया नाइन प्रोडक्सनले गरेको हो । निर्मातामा नवीन भट्ट छन् ।



– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button