Main

सुदूरपश्चिममा मुख्यमन्त्रीको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

२० वैशाख, धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् । बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको संसदभित्र र बाहिर कडा प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक बिक्रम धामीले जानकारी दिए ।

धामीले सोडारी समेतको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेपनि प्रदेश प्रमुखले झुक्याएर फेरि प्रक्रिया थालेर सोडारीलाई नियुक्त गरेका कारण विश्वासको मत लिने कदम अर्को त्रुटि भएकाले प्रतिवाद गर्ने निर्णय गरेको बताए ।

६ वैशाखमा एमाले, माओवादी केन्द्र र नाउपाको रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

२ वैशाखमा नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

एउटै दलबाट दुई जनाको दाबी परेको कारण देखाउदै प्रदेश प्रमुख नजिर मियाँले दोस्रो पटक सरकार गठनका लागि ४ वैशाखमा आह्वान गरेका थिए ।

६ गते सोडारीले दाबी पेश गरेपछि मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए । उनको नियुक्ति विरूद्ध नाउपाका लक्ष्मणकिशोर चौधरी सर्वोच्च पुगेका थिए ।

सोडारीविरुद्ध दायर रिट सर्वाच्चमा विचाराधीन अवस्थामा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button