व्यक्ति हत्या संलग्न नेपाली सेनाका ‘भगौडा’ २० वर्षपछि पक्राउ

२३ वैशाख, काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहर भएपछि फरार भएका नेपाली सेनाका एक ‘भगौडा’ २० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको साविक चित्लाङ गाविस–३ सिरुपाटा घरभ एका ४७ वर्षीय शंकर आले छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले नवलपरासीको देवचुल नगरपालिका–१३ प्रगतीनगरबाट पक्राउ गरेको हो ।
उनी नेपाली सेनाको तत्कालीन श्री नं. ७ बाहिनीस्थित अडा चनवन मकवानपुरमा कार्यरत थिए । उनको दर्जा भने नखुलेको र व्यक्ति हत्यापछि जागिर छाडेर भागेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी होबिन्द्र बोगटीले बताए ।
मकवानपुरमै कार्यरत रहेका बेला २०६१ कात्तिक २९ गते आलेसहितका व्यक्तिले मकवानपुरको साविक मार्खु गाविस–४ का पूर्णबहादुर बिष्टलाई हत्या गरेको आरोप छ ।
हत्याको भोलिपल्ट चित्लाङको दोसाधमा पर्ने काल्सिङ खोलामा विष्टको शव भेटिएको थियो । विष्ट हत्या आरोपमा आलेलाई जिल्ला अदालत मकवानपुरले २०७२ वैशाख २३ गते जन्मकैदको फैसला सुनाएको थियो ।
आइतबार नै फैसला कार्यान्वयका लागि आलेलाई जिल्ला अदालत मकवानपुरमा पेश गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।