सिरोहियाको रिटमा सर्वोच्चले गृह मन्त्रालयसँग माग्यो लिखित जवाफ

२५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न गृह मन्त्रालयका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृह मन्त्रालयलगायत जिल्ला प्रहरी कार्यालय धनुषाको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
सिरोहियाले अन्तरिम आदेशसमेत माग गरेको भन्दै सर्वोच्च अदालतले त्यसबारे छलफल गर्न आगामी शुक्रबार (२८ वैशाख)मा अन्तरिम आदेश छलफलका लागि झिकाउन आदेश दिएको छ ।
सरकारले आफूमाथि धरपकड गर्न खोजेको भन्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
आफ्नो नागरिकता छानबिनका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको र त्यसक्रममा धरपकड हुनसक्ने भन्दै उनले त्यसलाई रोक्न अन्तरिम आदेशको माग गरेका थिए ।
आफूले सञ्चालन गरेको सञ्चार माध्यमको सामग्रीका कारण आफूमाथि प्रतिशोध साँध्न खोजिएको र नागरिकताको बहानामा आफूलाई पक्राउ गरी हतोत्साहित गर्न खोजिएको उनको दाबी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।