Main

सरस्वती प्रतीक्षा, भूपिन खड्का सहित ७ जना स्रष्टा सम्मानित हुँदै

२६ वैशाख, पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यकार भूपिन खड्का, सरस्वती प्रतीक्षा सहित ७ जना जना स्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरूलाई सम्मान अर्पण गर्न लागेको हो ।

यसरी सम्मानित हुनेहरूमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका स्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका स्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाका स्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ  छन् ।

उनीहरूलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला सहित सम्मान अर्पण गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतीक्षा सम्मानित हुनेछिन् । उनलाई नगद ५० हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ सम्मानित हुने भएका छन् । उनीहरूलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

सबै स्रष्टालाई वैशाख २९ गते शनिबार दिउँसो २ बजे गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा विशेष कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button