अमेरिकी सपनाले केन्यामा ९ महिनासम्म बन्धक

२८ वैशाख, काठमाडौं । अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४७ वर्षीय टासी शेर्पा, ४२ वर्षीया ङिमबुटी शेर्पा र १९ वर्षीया निमा शेर्पा छन् । उनीहरुले सजिलैसँग अमेरिका र क्यानडा पठाइदिने भन्दै प्रतिव्यक्ति ३० लाख रुपैयाँसम्म उठाएका थिए । तर केन्या पुर्याएर ९ महिनासम्म बन्धक बनाए ।
त्यहाँबाट फर्किएकाहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । अमेरिका सपनाले केन्यामा ९ महिना बन्धक भएर नेपाल फर्किनेमध्ये एक हुन्, हेटौंडाका ३९ वर्षीय केबी लामा ।
काठमाडौंको न्युरोडमा लामो समयदेखि कपडा व्यवसाय गर्दै आएका उनी अमेरिका सपनाले बिल्लिबाठ भएका छन् ।
कपडा व्यवसायबाट केबीको आम्दानी राम्रै थियो । सन्तुष्ट नै थिए । त्यही भएर पनि होला, २ वर्षअघिसम्म वैदेशिक रोजगारमा जाने सोच बनाएका थिएनन् । जब ०७८ फागुनमा टासी शेर्पासँग भेट भयो, उनले अमेरिका सपना देख्न थाले ।
सिन्धुपाल्चोककै एकजना भाइमार्फत व्यापारकै सिलसिलामा टासीसँग उनको भेट भएको थियो । कुराकानीका क्रममा टासीले अमेरिका जान मन भए आफूले ‘पठाइदिने मान्छे चिनेको’ सुनाएका थिए । त्यसले विस्तारै केबीको मनमा अमेरिका सपना हुर्किन थाल्छ । ‘उसले आफ्नो छोरा र बैनी पनि अमेरिका पुगिसकेको भनेको थियो’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि त मलाई पनि अमेरिका पुगिन्छ कि क्या हो भन्ने भयो ।’
टासीले चिनेका व्यक्ति थिए, जगतबहादुर तामाङ । पीडितहरुका अनुसार तामाङ नै यो ठगी गिरोहका मुख्य व्यक्ति हुन् । टोशी, जगतले नै आफ्नो छोरा र बैनीलाई सजिलैसँग अमेरिका पुर्याएको सुनाउँथे । अमेरिकामा रहेका आफ्ना छोरा र बैनीको फोटो पनि देखाउँथे ।
अवैध तरिकाले अमेरिका पुर्याउने भन्दै केन्यामा बन्धक बनाएको आरोपमा पक्राउ परेका टासीसहित ३ आरोपी ।
टासीलाई पत्याएका केबीले पनि जगतबहादुरलाई भेटे । त्यसपछि त के चाहियो ? केबी भनेजति पैसा दिन राजी भइहाले ।
‘सजिलैसँग अमेरिका पुर्याइदिने, धेरै खर्च पनि नलाग्ने । त्यसमाथि अमेरिकामा सबै आफ्ना मान्छे भएकाले जागिर पनि खोजिदिने भनेर भन्यो’, केबी भन्छन् ‘महिनाको ४/५ लाख तलब भएको जागिर, अनि २ वर्षमै पीआर मिलाइदिने भएपछि त म पनि रेडी भइहालें ।’
सुरुमा केबीले जगत र टाशीलाई ५ लाख रुपैयाँ बुझाए । त्यसको केही महिनापछि थप ९ लाख ।
अमेरिका जान केबीले पसल, गरगहना बेचे । भएको घरजग्गा पनि धरौटीमा राखेर ऋण निकाले । उनलाई लागेको थियो, ‘महिनाको ४/५ लाख कमाउने भएपछि यति ऋण त तिरिहालिन्छ नि !’
‘सुरुमा प्रोसेस गर्न भनेर सुरुमा ५ लाख रुपैयाँ मागे । पछि भिसा आयो, अब टिकट किन्नुपर्छ भनेर ९ लाख मागे, मैले दिएँ’, केबीले भने, ‘१४ लाख बुझाएर ०७९ चैतमा दुबई हुँदै युगान्डासम्म पुगें ।’
युगान्डामा ३ महिना राखेपछि गाडी चढाएर केवीलाई केन्या पुर्याइयो । त्यतिबेला उनलाई लिन एक जना बंगालीमूलका र केही केन्याली युवाहरु आएका थिए । त्यहाँ उनलाई एउटा अपार्टमेन्टमा राखियो । पासपोर्ट लगायत कागजात उनलाई लिन आएका व्यक्तिहरुले नै लगिसकेका थिए ।
केन्याको राजधानी नैरोबीमा उनी ६ महिनाभन्दा बढी बन्धक भएर बसे । ‘त्यतिबेला पनि हामीले कहिले उडाउनुहुन्छ भनेर सोधिराख्थ्यौं । कहिले यो हप्ता, कहिले अर्को हप्ता भनेर टारिरहे । बीचमा त ब्राजिल, कोलम्बिया लगायत देशको फेक भिसा पनि देखाइयो’, उनले भने ।
केबी सुरुमा ब्राजिलको भिसा पाउँदा दंग परेका थिए । तर इन्टरेन्टमा सर्च गरेर हेर्दा उनीहरुले देखाउको भिसा नक्कली भएको थाहा पाए त्यसपछि झसंग भए । ‘उनीहरुले देखाएको २/३ वटा भिसा फेक भएको थाहा पाएपछि भने ठगिएछौं भन्ने थाहा पायौं’, उनले भने ।
केबीसँगै अमेरिका सपनाले लाखौं रुपैयाँ बुझाएर केन्यामा बन्धक हुनेमा रुकुम पूर्वका २४ वर्षीय सूर्य मल्ल पनि छन् ।
जगतसँग उनको भेट भने काठमाडौंकै एउटा फर्निचर पसलबाट भएको थियो । फर्निचर पसल साङ्बु शेर्पाको थियो ।
‘दिदीले फर्निचर किनिराख्ने भएएकाले चिनजान थियो । अमेरिका पठाउने कुराकानी भएपछि दिदीले नै मलाई जान्छस् भनेर सोध्नुभयो’, मल्लले भने, ‘हाम्रोतिर सबै अमेरिका गइराखेका थिए । उनीहरु राम्रैसँग पुगेका पनि थिए । त्यसैले म पनि पुगिहाल्छु नि भन्ने भयो ।’
ब्याचलर तेस्रो वर्ष पढ्दापढ्नै मल्लले आफन्तीसँग सरसापटी र ऋणधन गरेर सुरुमा ५ लाख त्यसपछि ९ लाख बुझाए । अघिल्लो चैतमै काठमाडौंबाट उडे । ‘केन्या पुगेर पासपोर्ट लगिसकेपछि त अब फर्किन पाइन्न भन्ने लागेको थियो । मारिहाल्छन् कि भन्ने डर लाग्थ्यो’, मल्लले सुनाए, ‘पछि त्यहीं उजुरी गरिदिन्छौं भनेर धम्क्याएपछि पासपोर्ट फिर्ता दिए ।’
यो समूहले सिन्धुपाल्चोका ३६ वर्षीय सुक शेर्पासहित ९ जनालाई भने केन्यामै ६ महिना बढी बन्धक बनाएको थियो ।
पक्राउ परेकाहरुबाट बरामद भएका कागजात ।
सिन्धुपाल्चोककै भएपनि सुकु र टाशीको भेट पहिले भएको थिएन । काठमाडौंमा पठाओ चलाउँदै आएका उनी वैदेशिक रोजगारका लागि राम्रो देशको खोजीमा थिए । सकेसम्म खाडी मुलुक नजाने, तर युरोपेली देश जाने उनको सोचाइ थियो । त्यहीबेला टाशी शेर्पासँग भेट भयो ।
एउटै जिल्ला, दुवै शेर्पा । चिनजान गर्न र नजिक हुन उनीहरुलाई बेर लागेन । ‘अमेरिका जाने त सोचेको पनि थिइनँ । हाम्रै सिन्धुपाल्चोकको टाशीसँग भेट भएपछि मैले पनि अमेरिका जाने सोचें’, उनले भने, ‘उसले जगतबहादुरलाई भेटाइदिएर सबै जिम्मा मेरो भयो भनेपछि ढुक्कै भएँ ।’
पटकपटक गरेर १५ लाख रुपैयाँ जगतबहादुर तामाङलाई बुझाएपछि उनी ०८० असोज ३ गते केन्याका लागि उड्न तयार भए । ‘गाउँमा गएर आफन्तहरुसँग बिदावारी भएँ । बिहे दर्ता भएको थिएन, त्यो पनि गरें’, उनले भने, ‘गाउँबाट बिदा भएर काठमाडौं आइसकेपछि पनि केही समय पख्नुस् पख्नुस् भन्दै झुलाएको थियो ।’ उनी केन्यामा ६ महिना बन्धक बनेपछि फर्किए ।
नेपाल फर्किन विमानस्थलमा घुस
पासपोर्ट आफ्नो फिर्ता आएपछि केन्यामा बन्धक बनेका उनीहरुले त्यहाँको कन्सुलर, एनआरएनलगायतको सम्पर्कमा पुगे । उनीहरुकै सहयोगमा नेपाल फर्किन पाएको पीडितहरुले बताएका छन् ।
‘नेपाल फर्किने त भयौं । तर त्यहाँको अध्यागमनमा नेपालमा भन्दा पनि घुसखोरी रै’छ’, सूर्य मल्लले भने, ‘त्यहाँको कर्मचारीलाई घुस खुवाएपछि बल्ल हामीलाई आउन दियो । फर्किन पनि आफ्नै पैसाले आयौं ।’
विमानस्थल प्रवेश गर्न नदिएपछि त्यहाँका कर्मचारीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म पैसा बुझाएको दाबी पीडितहरुले गरे ।
‘अमेरिका पुगेर सरप्राइज दिने सपना आधा बाटोमै तुहियो’
पीडितहरुका अनुसार टासीले विश्वास जित्न आफ्नो छोरा र बैनीलाई जगतले अमेरिका पठाइदिएको भन्दै फोटो देखाउथे । टाशी र जगतसँग भेट भएको एक महिनाभित्रै भिसा आउन थालेपछि झनै ढुक्क भएका थिए । सजिलै भिसा आएपछि सजिलैसँग अमेरिका पुगिन्छ भन्ने लागेको थियो ।
तर केन्यामा लामो समय बन्धक बन्नु परेपछि भने होसहवास् उडेको उनीहरुले अनलाइनखबरलाई सुनाए ।
केन्याको राजधानी नैरोबीस्थित एक अपार्टमेन्ट जहाँ अमेरिका हिँडेका नेपालीहरुलाई बन्धक बनाइएको थियो ।
केन्यामा ९ महिनासम्म बसेको, खाएको सबै आफैं खर्च गर्नुपर्दा दोब्बर खर्च भएको उनीहरुले जानकारी दिए । त्यहाँ खानपीन र कोठा भाडामै एक जनाले ९ लाख रुपैयाँसम्म खर्च गरेका छन् ।
‘यता टाशीहरुलाई भन्दा ३/४ हजार नेपाली पैसा पठाइदिन्थे । त्यसले के हुन्थ्यो र ?’ सुकले भने, ‘पछिपछि त घरबाटै मगाउन थाल्यौं ।’
केन्याबाट फर्किएका अधिकांशले परिवारका सीमित सदस्यलाई मात्रै जानकारी दिएर अमेरिका हिँडेको र अहिले फर्किएपछि पनि भन्न नसकेको बताए । केबीले भने, ‘घर परिवारमा पनि सीमित सदस्यलाई मात्रै थाहा दिएर उडेका थियौं । अमेरिका पुगेर कंग्य्राचुलेसन खाने सपना थियो, केन्याले खायो ।’
आफूहरुको उजुरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मुख्य नाइके भनिएका जगतबहादुर तामाङ फरार छन् । प्रहरीका अनुसार अहिलेसम्म १० जना पीडित सम्पर्कमा आएका छन् र, यो समूहले उनीहरुबाट साढे ५ करोडभन्दा बढी ठगी गरेको पाइएको छ ।
आफूहरुलाई ठगी गर्नेहरु पक्राउ परेको सूचना पाएपछि शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिसर पुगेका सुक शेर्पाले अनलाइनखबरसँग भने, ‘अब ठगसँग कसरी पैसा उठाउने भन्ने छ ।’
वैदेशिक रोजगारसम्बन्धी कसूर हेर्ने पिलरका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले ठगी गिरोहका मुख्य नाइके भनिएका तामाङको खोजी भइरहेको बताए । ‘उजुरी पर्नेबित्तिकै अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेका छौं । घटनामा मुख्य नाइकेकाे खाेजी गरिरहेका छौं’, उनले भने ।
(पीडितहरुकै आग्रहमा उनीहरुको परिवर्तित नाम राखिएको छ ।)
– यस समाचारको श्रोत : Online Khabar हो ।