Main

शंकरदेवका क्याम्पस प्रमुखले भने : कुनै अनियमिततामा संलग्न छैन

३० वैशाख, काठमाडौं । शंकरदेव क्याम्पसका प्रमुख तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का पदाधिकारीहरूले आफूहरूमाथि लागेको आर्थिक अनियमितताको आरोपको खण्डन गरेका छन् ।

क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य, लेखा प्रमुख सुद्धर्शन थापा, विद्यार्थी कल्याण प्रमुख गजेन्द्र गोहित र स्ववियु अध्यक्ष सुशान्त बस्नेतको मिलेमतोमा क्याम्पसमा आर्थिक अपचलन गरेको नेविसंघले आरोप लगाउँदै आएको छ ।

शंकरदेव क्याम्पस प्रमुख आचार्यले आफू क्याम्पस प्रमुख भएर आउनुअघिको नेतृत्वको कामकारबाहीबारे जिम्मेवार हुन नसक्ने र आफ्नो नेतृत्वमा क्याम्पसको सबै कामकारबाही पारदर्शी रहेको दाबी गरे ।

उनले आफूमाथि झुठा र निराधार आरोप लागेको बताए । उनले भने ‘आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भनी लगाइएको आरोप झुठा र कपोकल्पित हो । म क्याम्पस प्रमुख भई आउनुभन्दा अगाडिको सन्दर्भमा म जवाफदेही हुने कुरा भएन । म आए पश्चात मात्र भए गरेका आर्थिकलगायत सम्पूर्ण काम कारबाहीको जिम्मेवारी लिन म सदैव तयार छु ।’

उनले शैक्षिक भ्रमण, भौतिक संरचना निर्माण, शैक्षिक सामग्री खरिदलगायत क्याम्पसलाई आवश्यक पर्ने सामान किन्दा खरिद समितिको सिफारिसमा क्याम्पस कार्यसमितिबाट निर्णय गराई बोलकबोल प्रक्रियाबाट प्रतिस्पर्धा गराएर न्यूनतम दर रेटमा छनोट गर्ने गरिएको बताए ।

केही व्यक्तिहरूले क्याम्पसबाट अनुचित लाभ लिनका लागि आफूलाई बारम्बार दबाब र दुर्व्यवहार गर्दै आएको समेत उनले बताए । उनीहरूको चाहना पूरा नगरिदिए वापत आफूले आरोप खेप्नुपरेको क्याम्पस प्रमुख आचार्यको भनाइ छ ।

स्ववियु अध्यक्ष सुशान्त बस्नेतले क्याम्पस प्रशासन र लेखा प्रमुखसँग मिलेर आर्थिक अपचलन गरेको आरोप प्रमाणित भए स्ववियुको जिम्मेवारीबाट राजीनामा दिएर सजाय भोग्न तयार रहेको बताए । उनले भने, ‘हामीमाथि छानबिन भए अनुसन्धानमा सघाउन तयार छौं ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button