पाथीभरा म्याराथनको उपाधि : पुरूषतर्फ आर्मीका होमलाल र महिलातर्फ सुनसरी रोकायालाई

७ जेठ, ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पूरा गरेका थिए ।
प्रथम भएका श्रेष्ठले एक लाख ५१ हजार एक सय ११ रुपैयाँसहित प्रमाणपत्र पाएका छन् । यस्तै, त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार द्वितीय भएका छन् । उनले निर्धारित दूरी चार घण्टा १२ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए । उनले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित प्रमाणपत्र पाए ।
यस्तै तृतीय भएका आर्मीकै प्रताप थाम्सुहाङले चार घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । उनलाई ५१ हजार एक सय ११ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । पाथीभरा खुला म्याराथनमा एक सय १४ जना सहभागी भएका थिए ।
यसैगरी महिला हाफ म्याराथनतर्फको उपाधि पनि आर्मी क्लबकै सुनसरी रोकाया प्रथम भएकी छिन् । रोकायाले सदरमुकाम–काफ्लेपाटी ३९ किलोमिटरको निर्धारित दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पूरा गरेकी थिइन् ।
यस्तै, फुङलिङ–६ की कुमारी गुरुङ चार घण्टा २२ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो भएकी छिन् । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी विनिता तामाङले चार घण्टा २७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गरी तेस्रो भएकी छन् । महिलातर्फका प्रथम, द्वितीय र तृतीयले क्रमशः ८१ हजार एक सय ११ रुपैयाँ, रु ५१ हजार एक सय ११ रुपैयाँ र ३१ हजार एक सय ११ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिला हाफ म्याराथन दौडमा ४७ धावक सहभागी भएको पाथीभरा म्याराथन दौड व्यवस्थापन उपसमितिका संयोजक विनोद भारतीले जानकारी दिए । यही जेठ ३ गतेदेखि सुरु भएको ताप्लेजुङ महोत्सव आज सम्पन्न भएको छ । महोत्सवअन्तर्गत डोको क्यारी रन, अन्तरपालिकास्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगितासहितका खेलकुद भएका छन्भने पाथीभरा साइकल यात्रासमेत सम्पन्न भएको छ ।
जिल्लाको पर्यटन प्रवद्र्धन र विकासका लागि आयोजित महोत्सवमा घरेलु औद्योगिक कृषि प्रदर्शनी, विभिन्न जातीय समुदायका खाद्य परिकारका कक्ष राखिएका थिए ।
महोत्सवमा हरेक दिन सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम गरिएका थिए । आइतबार गायक प्रताप दाससहितका कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए भने आज समापनको दिन गायिका रचना रिमाल प्रस्तुति रहेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।