गरिमाले किनिन् बीवाइडीको विद्युतीय गाडी, भन्छिन्- पैसा र वातावरण जोगिने आशा लिएको छु

काठमाडौं । एक्ट्रेस तथा मोडल गरिमा शर्माले शुक्रबार ४० लाख रुपैयाँ मूल्य पर्ने बीवाइडीको विद्युतीय गाडी किनिन् । शोरुमबाट आमा र भाईलाई चढाएर घरसम्म आफैले कार ड्राइभ गरिन् ।
यसअघि आमाले उपहार दिएको स्कुटी चढ्दै आएकी गरिमाको यो चारपांग्रे सवारी उनी आफैको मिहेनतको कमाई हो ।
‘कलाकारितामा लागेर पनि कार चढ्न सकिन्छ भन्ने लागेको छ’ अनलाइनखबरसँग ‘लन्डन टु पेरिस’ डेब्यु गर्लले भनिन्, ‘पैसा र वातावरण जोगिने आशा लिएको छु ।’
उनले बीवाइडीको कार किन्नुको कारण पनि उल्लेख गरेकी छन् । नेपालको सडक संरचनासँग मिल्दोजुल्दो, आधुनिक प्रविधि र आरामदायी यात्रा, नेपाली अर्थतन्त्र र मध्यम परिवारलाई टिकाउ, वातावरणमैत्री भएको कारण यो कार किनेको गरिमाको भनाई छ ।
म्युजिक भिडियो र टीकटकबाट उदाएकी गरिमा पछिल्लो समयकी ब्यस्त कलाकार हुन् । उनको डेब्यु फिचर ‘लन्डन टु पेरिस’ जेठ २५ गते प्रदर्शन तयारीमा छ । सबथोक हेर्दा, गरिमाको लागि वर्ष २०८१ महत्वपूर्ण हुने देखिएको छ ।
पछिल्लो समय सेलिब्रेटीमाझ विद्युतीय कारको आकर्षण बढ्दो छ । कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका अभिनेता हरिवंश आचार्यले बिजुली खपतको सन्देश दिन भन्दै ईभी कार किनेका थिए । सरोज खनाल, सागर लम्साल, संजोग कोइरालाले पनि विद्युतीय गाडी चढ्दै आएका छन् ।
नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन खुद शून्यमा झार्नको लागि राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)मा प्रतिबद्धता जनाइसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।