सिमोस सुनुवारले ‘जन्ते बाख्रो’ निर्देशन गर्ने, लिड रोलमा सौगात मल्ल

काठमाडौं । सिमोस सुनुवारले फिल्म ‘जन्ते बाख्रो’ निर्देशन गर्ने भएका छन् । निर्माताले मंगलबार फिल्म निर्माणको घोषणा गरेका छन् । यो फिल्मको शीर्ष भूमिकामा सौगात मल्लले अभिनय गर्ने जनाइएको छ ।
‘झ्यानाकुटी’ र ‘हात्तीछाप’पछि सौगात र सिमोसको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हो । भदौदेखि छायांकन सुरु हुने फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।
कमेडी कथावस्तुमा बन्ने यो फिल्मका अन्य कलाकार घोषणा गरिएको छैन । बेहुली भित्राउने दिनमा जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । फिल्मको कथावस्तु यसै वरपर आधारित हुने पटकथा लेखक भारद्धाजले बताए ।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्माणमा निर्देशक समेत रहेका सुनुवार र सन्तोष गौतमले सहकार्य गर्ने भएका छन् । यो फिल्मलाई लिएर सौगातले आफू उत्साहित रहेको बताएका छन् ।
अहिले केही अभिनेत्रीसँग कुरा चलिरहेकाले केहीदिनमा पात्र सुहाउँदो अभिनेत्रीलाई अनुबन्धित गर्ने तयारीमा निर्माण टिम रहेको जनाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।