लगातार चौथो खेल जित्दै नेपाल बंगबन्धु कप कबड्डीको सेमिफाइनलमा

१७ जेठ, काठमाडौं । लगातार चौथो जित निकाल्दै नेपाल बंगलादेशको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ए मा रहेको नेपालले बिहीबार साँझ भएको खेलमा इन्डोनेसियालाई ६३–३५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
घरेलु टोली बंगलादेशले पनि लगातार चार खेल्दै जित्दै समूह ए बाट सेमिफाइनलमा स्थान बनाइसकेको छ । उक्त खेलमा नेपालका कप्तान धनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए ।
नेपालले बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियालाई ६७–४५ ले पराजित गरेको थियो ।
त्यसअघि नेपालले मलेसिया र पोल्याण्डलाई पनि पराजित गरेको थियो ।
नेपालले अब समूहको अन्तिम खेल शुक्रबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।