बजेटमा आन्तरिक उत्पादनलाई जोड दिने घोषणा सकारात्मक : महासंघ

२१ जेठ, काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले आन्तरिक उत्पादनलाई जोड दिएको भन्दै सकारात्मक प्रतिक्रिया दिएको छ ।
आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आबद्ध गराउने बजेटले लिएको लक्ष्य सकारात्मक रहेको महासंघको भनाइ छ ।
यस्तो लक्ष्य परिपूर्तिका लागि नेपाल सरकारले हस्तकला जस्तो स्थानीय श्रम, सिप र कच्चा पदार्थमा आधारित उद्योगको प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने समेत महासंघले जनाएको छ ।
निजी क्षेत्रसँगको सहकार्यमा बागमतीलाई उद्योग, लुम्बिनीलाई साना तथा मझौला उद्यमी हब बनाउने घोषणा समेत सकारात्मक रहेको महासंघको प्रतिक्रिया छ ।
प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमद्धारा स्वदेशी उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम मार्फत स्वदेशी उत्पादनलाई उत्साहन गर्ने बजेटको घोषणाप्रति समेत आशावादी रहेको महासंघले जनाएको छ ।
उद्यममा युवा सहभागिता बढाउने र नवप्रवर्तनका लागि उद्यमशील वातावरण तयार गर्ने उद्देश्यले स्टार्टप उद्यमशीलताका लागि १ अर्बको कोष व्यवस्थापन गर्ने घोषणालाई समेत महासंघले सराहनीय भनेको छ ।
कोषबाट हुने ऋण प्रवाह सम्वन्धी कार्यविधि झन्झट रहित र लघु, घरेलु तथा सानो स्तरमा रहेका हस्तकला उद्यमीमैत्री बनाउन महासंघले माग गरेको छ ।
सोमबार महासंघका अध्यक्ष प्रचण्ड मल्लले विज्ञप्ती जारी गर्दै हस्तकला क्षेत्रमा धेरै काम अनौपचारिक क्षेत्रमा हुने भन्दै यस क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने घोषणलाई समेत सकारात्मक भनेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।