Main

बागमती र आरसी ३२ बी डिभिजनमा बढुवा

२२ जेठ, काठमाडौं । सर्लाहीको बागमती युवा क्लब र सुर्खेतको आरसी ३२ फुटबल एकेडेमी शहीद स्मारक बी डिभिजन लिगमा बढुवा भएका छन् ।

मंगलबारको खेलअघिसम्म बी डिभिजनमा बढुवाको लागि बागमती र आरसी ३२ सँगै पुल्चोक स्पोर्टस क्लबबीच त्रिकोणात्मक भिडन्त थियो ।

तर, मंगलबार भएको खेलमा आरसी ३२ ले बाजुराको रानीवन स्पोर्ट्स क्लबलाई ५-० हरायो भने पुल्चोक सानेपा युथ क्लबसँग २-१ ले पराजित भयो । हारपछि पुल्चोकको १२ खेलबाट २१ अंक छ । पुल्चोकले बाँकी एक खेल जितेपनि बागमती  रआरसी ३२ लाई भेट्टाउन सक्दैन ।

पुल्चोक पराजित भएपछि बी डिभिजन बढुवा हुने दुवै टोलीको टुङ्गो लागेको हो । बागमती र आरसी ३२ दुवैको समान २६ अंक छ । आरसी ३२ ले १२ खेल खेलिसकेको छ । बागमतीले भने ११ खेल खेलेको छ ।

बी डिभिजनमा बढुवा हुने दुवै क्लब मोफसलका हुन् । बागमती एकै प्रयासमा बी डिभिजनमा उक्लँदा आरसी ३२ ले भने दोस्रो प्रयासमा बी डिभिजनमा बढुवा भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आरसी ३२ लाई नियमविपरित खेलाडी अनुबन्ध गरेर खेलाएको भन्दै दुई खेलमा जरिवानासहित चार अंक खोसेपनि क्लब बढुवा हुन सफल भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button