कविता- खोलासँग

खोला
तिमी कहाँबाट आयौ
त्यो थाहा छैन
बग्दै बग्दै तिमी कहाँ पुग्छौ
त्यो पनि थाहा छैन
सफा, कन्चन, निर्मल बगिरहेछौ
अत्यन्त सरल
अत्यन्त तरल बगिरहेछौ।
म किनारामा बसेर
नजरले भ्याएसम्म हेरिरहेछु
र तिम्रै बारे सोचिरहेछु।
खोला
जहाँबाट बगे पनि
जतातिर बगे पनि
किनारा भिजाउँदै बग्छौ
जर्जर सुख्खा बगरलाई
रसिलो बनाउँदै बग्छौ
त्यही ओसमा
त्यही चिस्यानमा
बिरुवा उम्रन्छ
रूख हुर्कन्छ
जंगल बन्छ /उद्यान बन्छ
चराचुरुंगी गाउँछन्
पशुचौपाया थपिन्छन्
तिमीले छोएपछि त्यहाँ
नयाँ इकोसिष्टम बन्छ
रूखका जरा चिसो पारिदिने तिमी नै हौ
धरा हराभरा पारिदिने तिमी नै हौ।
बग्नु
निरन्तर बग्नु
तिम्रो कर्म हो
तिर्खाएकालाई पानी खुवाउनु तिम्रो धर्म हो
तिमीलाई कसैमाथि रिस–राग छैन
कसैमाथि वैरभाव छैन
कसैप्रति पक्षपात छैन
नजिक परेका सबैलाई
उत्तिकै स्नेहले अँगालो हाल्छौ
छुटेकाहरुसँग पनि खासै गुनासो छैन
आफूले आफैंलाई सम्हाल्छौ।
कालोमैलो आए कालोमैलो बगाइदिन्छौ
बाढीहिलो आए बाढीहिलो बगाइदिन्छौ
तिमी जस्तोसुकै प्रदूषण पिउन सक्छौ
र पनि स्वच्छ निर्मल जिउन सक्छौ
लाग्छ तिमी नीलकण्ठ हौ
दुनियाँलाई जोगाउनकै लागि
आफू कालकुट विष निल्न सक्छौ
आफैंलाई बाङ्गो सोच्नेहरूसँग पनि
निस्वार्थ तिमी मिल्न सक्छौ।
कहाँबाट आयौ
तिम्रो उद्गम कहाँ हो- यो लोक जान्दैन
जाँदा जाँदै कहाँसम्म पुग्छौ
त्यो पनि यो दुनियाँलाई थाहा छैन
तिमी आफ्नो गन्तव्यको दिशा आफैं पत्ता लगाउँछौ
खोचहरूले पनि अल्मल्याएन तिमीलाई
पत्थरहरूले पनि छेक्न सकेन तिमीलाई
तिमी आफ्नो बाटो आफैं बनाउँछौ
र निरन्तर बगिरहन्छौ
जहाँ जान्छौ किनारा रसिलो पार्दै जान्छौ
सम्बन्धहरू फराकिलो पार्दै जान्छौ।
प्रिय खोला
तिम्रो स्पर्शमा जादु छ
तिमीले छोएपछि
छोए जति धर्ती जादुमय बनाउँछौ
तिम्रो हर कोशिश मलाई
विस्तारै फैलिने ‘अस्मोसिस’ लाग्छ
तिमी जहाँ पुगे पनि
तिमीले चिस्यान भरेका
किनाराले सम्झिरहनेछ
तिमीले प्राण भरेका
साराका साराले सम्झिरहनेछ।
तिमीलाई हेरेर प्रश्न आइरहन्छ-
तिमी जस्तै असल कसरी हुने होला ?
तिमी जस्तै विशाल कसरी हुने होला ??
-५ जून, २०२४
– यस समाचारको श्रोत : Online Khabar हो ।