यस्तो छ माग्ने बुढाकी पत्नीको डेब्यु फिल्म ‘सानो संसार’को पोस्टर

काठमाडौं । दशैँको घटस्थापनाको अवसरमा असोज १७ गतेदेखि प्रदर्शनमा आउने अर्जुन कुमारको नयाँ फिल्म ‘सानो संसार’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।
निर्माता कुमारले सामाजिक सञ्जालमार्फते पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा सीतादेवी तिमिल्सिनासहित फिल्मका चार जना मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । पोस्टरमा उनीहरुलाई आफूभन्दा माथि रहेको कुनै वस्तुमा हेरेर मुस्कुराइरहेको देखाइएको छ ।
यो फिल्मबाट माग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवीले फिल्म अभिनयमा डेब्यु गर्दैछिन् ।
अर्जुन कुमार फिल्म्सको प्रस्तुतिमा छायांकनको क्रममा रहेको फिल्ममा तिमिल्सिनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी मुख्य भूमिकामा छन् । सिद्धार्थ पुडासैनी निर्देशक हुन् ।
फिल्मको पोस्टर सेयर गर्दै निर्माता अर्जुन कुमारले लेखेका छन्– ‘केही नयाँ कलाकार, नयाँ निर्देशक अनि नयाँ कथामा बनिरहेको चलचित्र सानो संसारको सुटिङ कार्य जारी । पहिलो पोस्टर सार्वजनिक गरेका छौँ है, फिल्म रिलिज आगामी घटस्थापना ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।