ताप्लेजुङ मनसुन विपद् रिपोर्ट : २५ घर पूर्ण क्षति, २५ अझै उच्च जोखिममा

१२ असार, काठमाडौं । मनसुनको सुरुआतमै आएको बाढीपहिरोमा परी ठूलो क्षति व्यहोरेको ताप्लेजुङको विपद् असरबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रिपोर्ट सार्वजनिक गरेको छ ।
प्राधिकरणले असार १० गते तयार पारेको उक्त रिपोर्ट अनुसार ताप्लेजुङमा अझै पनि २५ घर उच्च जोखिममा र ७१ घर जोखिममा छन् । रिपोर्टका अनुसार ताप्लेजुङले जेठ २२ गतेबाटै विभिन्न वर्षाजन्य विपद् व्यहोर्न सुरु गरेको थियो ।
मनसुनको सुरुआतमै ताप्लेजुङमा बाढीपहिरोबाट ५ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये फक्तालुङ गाउँपालिका मात्रै ४ जना छन् । उनीहरु सबै फक्तालुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको परिवार सदस्य थिए ।
जेठ ३१ गते मध्यराति पहिरोले घर पुर्दा गाउँपालिका उपाध्यक्ष लिम्बुका बुवा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, सानी आमा जसमाया लिम्बु र जुम्ल्याहा बैनी गंगा, जमुना लिम्बुको मृत्यु भएको थियो ।
त्यस्तै, कोशीकै पाँचथरका एकजनाको पनि ताप्लेजुङकै सिरिजंघा गाउँपालिकामा पहिरोमा परेर मृत्यु भएको थियो । २ जना घाइते भएका थिए ।
प्राधिकरणले बाढी पहिरोबाट ताप्लेजुङमा मात्रै ९६ घरका ३८९ जना विस्थापित हुनु परेको उल्लेख गरेको छ । विपद्बाट ८२ लाख रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ ।
जेठ २२ गतेदेखि १८ गतेसम्म ताप्लेजुङले बाढी, पहिरो, चट्याङलगायत विभिन्न मनसुनजन्य विपद् व्यहोर्नुपरेको प्राधिकरणले उल्लेख गरेको छ । जसबाट २५ घरमा पूर्ण रुपमा क्षति पुगेको थियो ।
यो अवधिमा एउटा झोलुंगे पुल, एउटा पक्की पुल र २ वटा मोटरेबल पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । ‘अझै पनि एउटा माइक्रो हाइड्रो पावर, क्रसर र एउटा म्युजियम पहिरोको वोखिममा रहेको जनाएको छ’, रिपोर्टमा भनिएको छ ।
रिपोर्टअनुुसार यो अवधिमा २१ पीडित परिवारलाई सहायता दिइएको प्राधिकरणको भनाइ छ । जसमध्ये फक्तालुङ गाउँपालिका २, सिरिजङ्गा गाउँपालिकाका ११ र सिदिङ्बा गाउँपालिकामा ८ परिवारलाई सहयोग गरिएको जनाएको छ ।
प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ ले कोशी प्रदेशमा यो मनसुनमा २२ हजार परिवार प्रभावित हुन सक्ने अनुमान गरेको थियो । उक्त प्रतिकार्यले ताप्लेजुङसहित खोटाङ भोजपुर, ओखलढुंगा, इलाम, सोलुखुम्बु जिल्लालाई बाढीपहिरोजन्य विपदको जोखिम देखाएको छ ।
प्राधिकरणको मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य अध्ययनअनुसार यो मनसुनमा ताप्लेजुङमा पहिरोबाट १ हजार १२९ जनसंख्या प्रभावित हुने अनुमान गरेको छ ।
कोशी प्रदेशमा एक दशक अवधिमा ४६४ बाढीजन्य घटना भएका छन् । जसबाट १ सय ३२ जनाले ज्यान गुमाएका छन् भने ८२ जना बेपत्ता छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।