ओलम्पिक सपना पूरा गर्दै प्रिन्स

१२ असार, काठमाडौं । कुनै बेला टिकट काटेर ओलम्पिक खेल हेर्न जाने इच्छा राखेका प्रिन्स दाहाल जुलाइ २६ (साउन ११ गते) मा फ्रान्सको पेरिसमा सुरु हुने ओलम्पिक २०२४ मा आफैं भाग लिँदैछन् ।
वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकका लागि छनोट भएपछि प्रिन्सले ओलम्पिक खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडीको कीर्तिमान पनि बनाउँदैछन् ।
‘एकछिन त दिमाग नै खाली जस्तो भयो । ओलम्पिक सबैको सपना हुन्छ । ड्रिम कम्स ट्रयू जस्तै भयो । अब पेरिसमा त्यो सपना पूरा हुनेछ’, उनले ओलम्पिकमा छनोट भएपछिको क्षण सम्झिए ।
हरेक खेलाडीको लक्ष्य ओलम्पिक खेल्ने नै हुन्छ । कतिको त्यो चाहना पूरा हुन्छ कतिको हुँदैन । अझ नेपाल जस्ता देशबाट ओलम्पिकमा छनोट हुनु नै ठूलो उपलब्धि मानिन्छ । त्यसैले प्रिन्स आफूलाई भाग्यमानी मान्छन् ।
‘एउटा सपना बोकेर हिँडेको थिएँ, जसरी पनि ओलम्पिक खेल्ने । घरमा पनि सबै जना खुशी हुनुहुन्छ’, उनी भन्छन्, ‘पहिले बुबाको चाहना नेपाल च्याम्पियन बनाउने थियो, पछि अन्तर्राष्ट्रियमा पनि राम्रो गर्नुपर्छ भन्नुभयो । अब ओलम्पिकमा राम्रो गर्नुपर्छ भन्नुभएको छ ।’
दार्चुला जिल्लाको खलंगाका प्रिन्सले ६-७ वर्षको उमेरदेखि नै ब्याडमिन्टन खेल्न थालेका थिए । उनका बुबा नारायण दाहाललाई पछ्याउदै उनी ब्याडमिन्टनतर्फ आकर्षित भए ।
प्रिन्सले सानैदेखि काठमाडौंमा बसेर पढ्दै खेल्न थाले । बुबाबाट र्याकेट समाउन सिकेका उनले साँगास्थित नेपाली प्रहरी स्कुलमा पढ्दा पूर्णबहादुर थापासँग ब्याडमिन्टनको बारेमा थप सिक्ने अवसर पाए । हाल पिनाकल कलेजमा १२ कक्षामा अध्ययनरत २० वर्षीय प्रिन्सलाई अहिले सुदीप योन्जनले प्रशिक्षण दिइरहेका छन् ।
किशोर अवस्थामै प्रिन्सले घरेलु प्रतियोगिताहरुमा सफलता पाउन थालेका थिए । सन् २०१९ मा युएईमा भएको दुबई इन्टरनेसनल जुनियर ब्याडमिन्टनमा स्वर्ण पदक जितेपछि प्रिन्सले पछाडि फर्केर हेर्नुपरेको छैन ।
१५ वर्षको हुँदा उनले साविक विजेता भारतका वरुण कपुरलाई हराएर उपाधि जित्दै सनसनी मच्चाएका थिए । जसले उनलाई वरीयतामा पनि फड्को मार्न सहयोग गर्यो ।
त्यसपछि उनले विभिन्न प्रतियोगिता खेल्दै २०२२ मा विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा शीर्ष स्थानसम्म पुगे । सन् २०१९ मै काठमाडौंमा भएको १३औं सागमा प्रिन्सले डबल्सतर्फ दुई कांस्य जितेका थिए ।
यस्तै गत वर्ष चीनको हान्झाउमा भएको १९ औं एसियाडमा पनि प्रिन्सले सहभागिता जनाएका थिए ।दुबईमा जुनियरमा स्वर्ण जित्नु र जुनियर वरीयतामा विश्व नम्बर एक खेलाडी हुनु प्रिन्सको सबैभन्दा ठूलो सफलता हो ।
यसरी भए ओलम्पिकमा छनोट
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को छात्रवृत्ति पाएका प्रिन्स अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, ब्याडमिन्टन वर्ल्ड फेडेरेसन र आयोजक नेसनल ओलम्पिक कमिटी प्रतिनिधि सम्मिलित समितिको युनिभर्सालिटी कोटामा ओलम्पिकमा छनोट भएका हुन् ।
प्रिन्ससँगै सुरिनामाका सोरेन ओप्टी पनि युनिभर्सालिटी कोटामा ओलम्पिकमा छनोट भएका छन् । त्यसका लागि आईओसी छात्रवृत्ति प्राप्त हुनुपर्ने, र्याङ्किङ प्रतियोगिताहरूमा गरेको प्रदर्शन र सम्बन्धित देशको उच्च वरीयताको खेलाडी हुनुपर्ने मापदण्ड थियो ।
पेरिस ओलम्पिकमा प्रिन्सले मेन्स सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् । प्रिन्स हाल विश्व वरीयतामा १७९ औं स्थानमा छन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले सन् २०२३ मे १ देखि २०२४ को अप्रिल २८ सम्म विभिन्न प्रतियोगितालाई ‘रोड टु पेरिस’ साइकलको रुपमा छनोट प्रतियोगिताको मान्यता दिएको थियो ।
प्रिन्सले गत महिना चीनमा भएको एसियन ब्याडमिन्टन च्याम्पियनसिपमा दुई खेल जितेका थिए । त्यसले पनि उनलाई फाइदा भयो । च्याम्पियनसिपको क्वालिफाइङ राउण्डमा उनले बहराइनका एडनान इब्राहिमलाई २–१ र बंगलादेशका खानदोकार अब्दुसलाई २–० को सेटमा पराजित गरेका थिए ।
ओलम्पिकमा पुग्न प्रिन्ससँगै बहराइनका एडनान पनि दौडमा थिए । तर हेड टु हेड र अंकका आधारमा प्रिन्सले बाजी मारे । ‘त्यो जितले म हेड टु हेडमा पनि अघि रहेँ । त्यसले पनि सहयोग गर्यो’, प्रिन्सले भने ।
श्रीलंकामा तयारी
ओलम्पिकको तयारी गर्न प्रिन्स प्रशिक्षक सुदीप योञ्जनसँगै श्रीलंकामा छन् । त्यहाँ उनले २० दिनसम्म इन्डोनेसियाका प्रशिक्षकबाट प्रशिक्षण लिनेछन् ।
यसअघि एसियाडमा जानुअघि पनि प्रिन्सले श्रीलंकामा तयारी गरेका थिए । ‘त्यहाँको एकेडेमीमा इन्डोनेसियाको अनुभवी कोच हुनुहुन्छ । त्यहाँ स्पायरिङ पार्टनरहरु पनि राम्रो छ । श्रीलंकन खेलाडी पनि सिधै ओलम्पिकमा छनोट भएका छन्’, उनले भने ।
श्रीलंकामा तयारीपछि प्रिन्स युएस ओपन खेल्न अमेरिका जाने तयारीमा छन् । त्यसले पनि ओलम्पिकका लागि तयारी हुने उनले बताए । ‘हरेक खेलाडीको सपना ओलम्पिक खेल्ने हुन्छ । त्यहाँ गएर खेल्न पाउनु पनि ठूलो कुरा हो । त्यसका लागि अझ कडा मिहिनेत गर्नेछु र पेरिस ओलम्पिकलाई सम्झनलायक बनाउनेछु’, प्रिन्सले भने ।
उनको आफ्नो करिअर यहाँसम्म आइपुग्नुमा मामा कमलेश निरौलाको ठूलो भूमिका रहेको बताए । ‘मामा अल इन अल जस्तै हुनुहुन्छ । उहाँलाई कोच म्यानेजर मेन्टर जे भने पनि हुन्छ’, उनले भने ।
ओलम्पिकमा छनोट हुनु मात्र उपलब्धि नहुने प्रिन्सले बुझेका छन् । नेपाली खेलाडीले यस्ता धेरै ओलम्पिक खेल्नुपर्ने भन्दै उनी त्यसका लागि सरकारले खेलकुदलाई महत्व दिनुपर्ने र निजी क्षेत्रको पनि लगानी आवश्य हुने बताउँछन् ।
‘आउने ओलम्पिकहरुका लागि पनि अहिलेबाट तयारी गर्नुपर्छ । लङ टर्म प्लान बनाएर सोच्नुपर्छ, अनि मात्र राम्रो हुन्छ । चीनका खेलाडीहरुले ओलम्पिकका लागि ८-९ वर्ष तयारी गर्छन् अनि पो स्वर्ण जित्छन्’, प्रिन्सले भने ।
राम्रो खेलाडी बन्न वर्षमा कम्तीमा १०-१५ वटा प्रतियोगिता खेल्नुपर्ने भन्दै उनले अनुभवको पनि ठूलो महत्व हुने बताए । ‘माथिल्लो लेभलका खेलाडीहरुसँग खेल्नुपर्छ, त्यसले वरीयतामा माथि आउन र अंकका लागि फाइदा पुग्छ’, उनले भने ।
राम्रो प्रशिक्षण, अभ्यास, डाइट र खेल सामग्रीमा ध्यान दिएर निरन्तर तयारी गर्ने हो भने नेपाली खेलाडीले पनि ओलम्पिकमा पदक जित्न सक्ने प्रिन्सको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।