‘वान युथ, वान प्लान्ट’ अभियान सुरु

नुवाकोट । ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा एक युवा, एक विरुवा अर्थात ‘वान युथ, वान प्लान्ट’ अभियान सुरु भएको छ ।
नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको विदुर नगरपालिकाबाट यो अभियानको शुक्रबारदेखि सुरु भएको हो ।
गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा ७ हजार ७ सय रुख वृक्षारोपण गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले बिदुर नगरपालिकामा बिरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी हुन् ।
अभियान २१ असारसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत देशभरका ७ हजार ७ सय युवाले हरियाली वातावरण प्रवर्द्धन र जलवायु कार्य प्रयासमा योगदान गर्दै कुल ७ हजार ७ सय बिरुवा रोप्नेछन् ।
यस अभियानका लागि एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) को एटिन फर एटिन कार्यक्रम अन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको सुरुवात भएको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मि खड्काले जानकारी दिइन् ।
कार्यक्रममा नेपाल युवा परिषद्का केन्द्रिय कार्यसमिति सदस्य एवम् बागमती प्रदेशका सयोजक नविन गिरीले यस अभियानलाई देशव्यापी रुपमा पुर्याउने सबैमा धन्यवाद दिए ।
कार्यक्रममा विदुर नगरपालिका-१० का वडाध्यक्ष गणेशकुमार नेपालले महत्त्वपूर्ण अभियानको शुभारम्भ आफ्नो वडाबाट भएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा नेपाल युवा परिषद्, एनसेल, एफएओ नेपाल, रैथाने नेपाल, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय जनप्रतिनिधि उपस्थित रहेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।