Main

नेपालका सुमन श्रेष्ठ भुटानी क्लबको प्रशिक्षक नियुक्त

३० असार, काठमाडौं । नेपाली फुटबल प्रशिक्षक सुमन श्रेष्ठ भुटानको शीर्ष श्रेणीको क्लब फुन्त्सोलिङ हिरोज एफसीको प्रशिक्षक नियुक्त भएका छन् ।

हाल त्यहाँको पहिलो डिभिजन लिग भुटान प्रिमियर लिग खेलिरहेको फुन्त्सोलिङले सुमनलाई जारी लिगको दोस्रो राउण्डको लागि अनुबन्ध गरेको हो ।

सुमनले क्लबलाई सकेसम्म माथिल्लो स्थानमा पुर्‍याउने लक्ष्य रहेको सुनाए । उनले आफूले अहिलेसम्म प्राप्त गरेको ज्ञान र सीपको प्रयोग गर्दै नेपाली प्रशिक्षकको नाम राख्ने बताए ।

यस्तै फुन्त्सोलिङले सुमनसँग दुई दशकको प्रशिक्षण अनुभव रहेकाले उनको प्रशिक्षणमा क्लबले राम्रो प्रदर्शन गर्ने विश्वास राखेको बताएको छ ।

पहिलो लेगमा अन्तिम खेलमा फुन्त्सोलिङले आइतबार थिम्पु सिटी एफसीसँग खेल्दैछ । थिम्पुमा नेपाली घरेलु लिगमा चर्चित नाइजेरियन खेलाडी ओलावाले आफिजले पनि खेलिरहेका छन् ।

सुमनले नेपालमा ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा र एपीएफ एफसीलाई प्रशिक्षण दिइसकेका छन् । उनले मनाङ मर्स्यादीमा रहँदा शहीद स्मारक ए डिभिजन लिगको उपाधि समेत जितेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button