Main

डेडिकेटेड विवाद : ५९ उद्योगले आफैं काटे बिजुली

३० असार, काठमाडौं । डेडिकेटेड विवादमा ५९ उद्योगले आफैं बिजुली काटेका छन् ।

नेपाल विद्युत प्राधिकरणले २५ र २६ असारका दिन उद्योगको बिजुली काटिएपछि उद्योगीले विज्ञप्ति जारी गर्दै ती उद्योगमा बिजुली नदिए सबै उद्योगको बिजुली आफैंले काट्ने चेतावनी दिएका थिए ।

यो चेतावनीपछि प्राधिकरणले बिजुली जडान नगरी उद्योगीलाई तर्साउने र धम्काउने काम गरेको आरोप उद्योगीहरूले लगाएका छन् ।

आइतबार एक विज्ञप्ति निकाल्दै सोहीकारण आइतबारदेखि नै सबै उद्योगमा स्वतःस्फूर्त रूपमा बिजुली कटौती गरिएको उद्योगीहरूले जानकारी गराएका छन् ।

उद्योगीहरूले डेडिकेटेड तथा टंक लाइन विवादमा अध्ययन गर्न गठन भएको गिरिशचन्द्र लाल नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरी बिजुली काटिएको भन्दै विरोध जनाइरहेका छन् ।

लाल आयोगले दिएको सुझाव तथा मन्त्रिपरिषद्को निर्देशन अनुसार प्राधिकरणले उद्योगीलाई प्रमाणसहित बिल जारी गरेमा महसुल तिर्न तयार रहेको भन्दै उद्योगीहरूले अहिलेको विवाद समाधान नभएसम्म कुनै पनि उद्योगले प्राधिकरणले बिजुली आपूर्ति नलिने समेत जनाएका छन् ।

राज्यका जिम्मेवार निकायले औद्योगिक वातावरण बिगार्ने काम गरेको समेत उद्योगीहरूको आरोप छ ।

 

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button