दिवाकर भट्टराईको एक्सन थ्रिलरबाट फिल्ममा फर्किंदै राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमाल फिल्ममा फर्किने निश्चितजस्तै भएको छ । दिवाकर भट्टराईले निर्देशन गर्ने आगामी एक्सन-थ्रिलरमा हमालले अभिनय गर्ने बुझिएको छ ।
‘उहाँसँग मौखिक सहमति भएको छ । लिखित सहमति हुन बाँकी छ । उहाँ फिल्म खेल्न सकारात्मक हुनुहुन्छ,’ निर्देशक भट्टराईले अनलाइनखबरसँग भने, ‘उहाँलाई साइन गराएपछि अन्य कास्टलाई टुंग्याउने तयारी छ ।’
नाम तय भइनसकेको यो ‘अनटाइटल’ फिल्ममा हमालको शीर्ष भूमिका हुनेछ । यदि लिखित सहमति भएमा ठूलो पर्दामा हमालको पाँच वर्षपछिको पुनरागमन हुनेछ । हमाललाई सुहाउने भूमिका भएकाले उनलाई प्रस्ताव गरिएको भट्टराईले बताए ।
‘त्यो रोल उहाँलाई सबैभन्दा सुहाउँछ । फिल्ममा कमब्याकका लागि यो बेस्ट क्यारेक्टर हो । स्क्रिप्ट पढ्दा पनि सबैले हमाल नै हुनुपर्छ भनेर भनेका छन्,’ हमालको कास्टिङ तयारीबारे निर्देशकले भने ।
हमालको पछिल्लो फिल्म ‘सीता’ पाँच वर्षअघि रिलिज भएको थियो । त्यसयता उनी टेलिभिजन कार्यक्रममा व्यस्त रहे । भदौदेखि छायांकन हुने दिवाकरको यो फिल्मको पटकथा उनी स्वयं र कथा चन्द्र पन्तले लेखेका हुन् ।
यो फिल्मको एक्सन कोरियोग्राफीको जिम्मा चन्द्रले नै लिएका छन् । राजुविक्रम थापाले छायांकन गर्ने फिल्मलाई काठमाडौं र उपत्यकाबाहिर पनि सुट गर्ने तयारी छ । दिवाकरको ब्यानर क्रिएटिभ सिने आर्ट्सले फिल्म निर्माण गर्न लागेका हुन् ।
दिवाकरले पछिल्लो पटक पल शाहलाई शीर्ष भूमिकामा लिएर ‘मायावी’ निर्देशन गरेका थिए, जुन रिलिज तयारीमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।