जागिर खोजिदिने इजी ग्रुपको पोखरामा राष्ट्रिय पोशाक घर

१८ साउन, पोखरा । काठमाडौंमै ब्याचलरसम्म आइटी पढेका राम कँडेलले पोखरा आएर एमबीए गरे । काठमाडौंमा आइटी कम्पनीमा मार्केटिङ गरेका उनले पोखरामा पनि आइटी क्षेत्रमै काम गर्न आफैं सन् २०१४ मा कम्पनी खोले, इजी फ्यासलिटिज प्रालि ।
काठमाडौंसँग लामो समय संगत गरेर पोखरा फर्किएका कँडेलले पोखरामा कोही काम खोजिरहेका त कोही कामदार खोजिरहेका देखे । तर, दुवैलाई जोड्ने त्यहाँ कुनै पुल थिएन । एकातिर रोजगारदाता कामदारकै अभाव थियो अनि अर्कातिर कामदारलाई काम चाहिएकै थियो ।
अनि बागलुङका कँडेलले सपना देखे, ‘म काम खोज्ने र कामदार खोज्नेबीचको पुल बनेर बिजनेस गर्छु ।’ उनले एउटा इजी ग्रुप बनाउने र त्यसभित्र विभिन्न क्षेत्रमा काम गर्ने कम्पनी खोल्ने योजना बुने ।
‘इजी ग्रुप’ खोलेर पोखरामा उनले सरसफाइदेखि हरेक क्षेत्रका कामदार खोज्नेलाई आफू पुल बनेर उपलब्ध गराउन थाले । ‘सुरुमा केही होटललाई सरसफाइदेखि वेटरसम्मका कामदार राख्नुस् हामी उपलब्ध गराउँछौं भन्यौं,’ कँडेलले सुनाए, ‘पछि धेरैले बुझ्दै पनि जान थाले र अहिले हामीले उपलब्ध गराएका जनशक्तिले सरकारी कार्यालय, अस्पताल, व्यापारिक मलदेखि विभिन्न कम्पनीमा काम गरिरहेका छन् ।’
पोखरामा व्यापारिक मल ट्रेड मल खुलेपछि उनीहरुले त्यहाँ सरसफाइका कामदार लगाए । ठूला–ठूला मल, अस्पताल, होटल, सरकारी कार्यालयदेखि एनजीओ, आइएनजीओसम्मले धेरैजसो सरसफाइका कामदार खोजिरहेका हुन्छन् । उनीहरुले स्थानीयस्तरमै धेरै महिला तथा पुरुषलाई काममा जोडेका छन् ।
महिनावारीदेखि घन्टा–घन्टासम्मका कामदार उनीहरुले उपलब्ध गराउने गरेका छन् । अहिले उनीहरुको इजि कम्पनीमार्फत १ हजारभन्दा बढीले रोजगारी पाइसकेका छन् । त्यसमा सबैभन्दा ठूलो हिस्सा विभिन्न कम्पनीमा काम गर्ने सरसफाइ क्षेत्रका छन् ।
उनीहरुले मासिक तथा निश्चित अवधिका लागि कामदार खोजिदिएवापत सरकारी कार्यालयदेखि विभिन्न कम्पनीबाट निश्चित रकम लिएर पुलको काम गर्छन् भने कतिपय ठाउँमा टेन्डर आह्वान र प्रस्ताव पेश गरेर पनि कामदार उपलब्ध गराउने गरेको छ । उनीहरुमार्फत दैनिक ८ घन्टा काममा रहेका कर्मचारीले अहिले ७० हजार रुपैयाँसम्म कमाउने कँडेलको भनाइ छ ।
इजी ग्रुपले पोखरामा कामदारको मागलाई पूर्ती गर्छ । सरसफाइको काम गर्छ । होटल, सरकारी संघ, संस्था एनजिओ, आइएनजिओलाई आवश्यक कर्मचारीको मागलाई परिपूर्ती गर्छ । पोखरामा इजी ग्रुप अन्तर्गतमात्र १ हजारभन्दा बढी कर्मचारी छन् ।
इजी ग्रुपले विभिन्न क्षेत्रमा लगानी र अवसरको सिर्जना गर्दै आइरहेको छ । यो ग्रुप अन्तर्गत अहिले लेकसाइडमा चौतारी बुटिक होटल सञ्चालनमा छ । सेक्युरिटी कम्पनीमार्फत विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड उपलब्ध गराउने गरेको छ ।
इजी हस्पिटालिटी सपमार्फत नेपाली हर्बल प्रोडक्टहरुको बिक्री गर्ने गरेको छ भने चौतारी इन्टरनेसनल प्रालिमार्फत डाइपर, प्याडजस्ता विभिन्न सामाग्री बिक्री गर्ने गरेको छ । इजी ट्रेडिङका नाममा सरसफाइका सामानहरुको बिक्री भइरहेको कँडेलले बताए । इजी ग्रुपले पोखरामा ५० करोड रुपैयाँभन्दा बढी विभिन्न क्षेत्रका व्यवसायमा लगाइरहेको छ ।
अहिले त्यही इजी ग्रुपले पोखरामा राष्ट्रिय पोशाक घर सञ्चालनमा ल्याएको छ । काठमाडौंको बानेश्वरमा रहेको राष्ट्रिय पोशाक घरलाई पोखरामा इजी ग्रुपले भित्राएको हो । विगत ७ वर्षदेखि काठमाडोंको बानेश्वरबाट राष्ट्रिय पोशाक दौरा सुरुवाल, टोपीलगायत सटिङ–सुटिङमा विभिन्न नेपाली उत्पादनलाई जोड दिँदै आएको पोशाक घरलाई पोखरामा इजी ग्रुपमार्फत विस्तार गरिएको हो ।
इजी ग्रुपका कँडेल र पोशाक घरका संस्थापक श्याम बजगाईँ कामकै सिलसिलामा काठमाडौंमा भेटिएका पुराना साथी थिए । सहकार्य गर्ने उनीहरुकै सल्लाहमा राष्ट्रिय पोशाक घर पोखरामा विस्तार भएको हो । पोखराको न्युरोडमा खुलेको राष्ट्रिय पोशाक घरको बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, गायक प्रकाश सपुतले उद्घाटन गरे ।
ढाका टोपी, दौरासुरुवाल र राष्ट्रिय पोशाक दिवस मनायने अभियानकै क्रममा विदेशमा रहेका धेरै साथीहरुले मगाउन थालेपछि आफूले राष्ट्रिय पोशाक घर स्थापना गरेको संस्थापक बजगाईँले बताए । काठमाडौंबाट दक्ष जनशक्ति उपलब्ध गराएर पोखरामा पोशाक घर खोलिएको उनको भनाइ थियो ।
तानबाट बुनिएका घरमा अल्लो, ओक्ता, ढाका, कोगटी, गाँजालगायतका पोशाकलाई जोड दिँदै पोखरामा शाखा खोलिएको बजगाइँले बताए । गायक प्रकाश सपुतले राम र श्याम मिलेर पोखरामा दिन थालेको सेवाले धेरै जनाको जीवन र संस्कृतिसँग जोड्ने बताए ।
पोखरा र आसपासका क्षेत्रलाई प्राथमिकता दिंदै देशकै विभिन्न क्षेत्रका स्थानीय उत्पादित पोशाकलाई बजारीकरण गर्ने प्रमुख उद्देश्य रहेको कँडेलले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।