लेवान्डोस्कीको २ गोलमा बार्सिलोनाको पुनरागमन जित

२ भदौ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।
बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउदै भ्यालेन्सियालाई उसैको मैदानमा २-१ ले पराजित गर्दै सुरुआती ३ अंक जोडेको हो ।
घरेलु मैदानमा ह्युगो डुरोले ४४औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई पहिले अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा बार्सिलोनाले सुरुमै गोल गर्यो । ४९औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले २-१ को अग्रता बनायो ।
भ्यालेन्सियाका क्रिस्थियन मोस्क्योराले रफिन्हालाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो र लेवान्डोस्कीले त्यसमा कुनै गल्ती गरेनन् ।
त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र त्यही अग्रता कायम राख्दै बार्सिलोनाले खेल जित्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।