Main

मार्जिन कारोबारमा ब्रोकरबाट सेयर धितो कर्जा दिने गरी ऐन संशोधन हुँदै

२ भदौ, काठमाडौं ।  धितोपत्र सम्बन्धी ऐनमा सेयर लगानीकर्तालाई मार्जिन प्रदान गर्न सक्ने प्रस्ताव भएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । विधेयकमा मार्जिन प्रदान गर्न सक्ने व्यवस्था थप्न प्रस्ताव भएको छ ।

‘धितोपत्र व्यवसायीले लगानीकर्तालाई धितोपत्र कारोबारका लागि तोकिए बमोजिमको सीमासम्म मार्जिन प्रदान गर्न सक्ने छ,’ धितोपत्र सम्बन्धी ऐन २०६३ को संशोधन विधेयकमा छ ।

यसरी प्रदान गर्ने मार्जिन बापत लिन सक्ने ब्याजको अधिकतम सीमा, शुल्क तथा मार्जिन कारोबार सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुने प्रस्ताव भएको हो ।

ऐनले नै मार्जिन कारोबारको व्यवस्था गर्ने प्रस्ताव गरे पनि अहिले बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जामा दिँदै आएकोमा त्यही कार्य सेयर ब्रोकर (धितोपत्र व्यवसायी) मार्फत  गर्न खोजिएको छ ।

ब्याजदर सेवा शुल्क तोक्न प्रस्ताव ऐनमा नै आउनुले मार्जिन कारोबारका नाममा ब्रोकरबाट कर्जा दिने व्यवस्था गर्न खोजिएको बजारका जानकार बताउँछन् ।  अन्तर्राष्ट्रिय अभ्यासमा मार्जिन ट्रेडिङ र इन्ट्राडे ट्रेडिङसँग सम्बन्धित हुने गरेको छ ।

तर, धितोपत्र सम्बन्धी ऐनमा मार्जिन कारोबारका नाममा ब्रोकर मार्फत सेयर धितो कर्जा दिने व्यवस्था गर्न खोजिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button