प्रधानमन्त्रीको सहभागितामा ‘काठमाडौं युथ कन्क्लेभ’ आयोजना हुँदै

७ भदौ, काठमाडौँ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौं युथ कन्क्लेभ २०२४’ आयोजना हुँदै छ । २०७६ सालदेखि शुरु गरिएको कन्क्लेभको यो पाँचौं संस्करण हो ।
कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा हुने कार्यक्रमको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
कार्यक्रममा देशका विभिन्न विधामा ख्यातिप्राप्त व्यक्तिहरुले सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू पनि प्रस्तुत गर्ने छन् । गीत, संगीत र हास्यव्यंग्य प्रस्तुति पनि हुने छ ।
युनिभर्सल कलेज र फोनेक्स कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको कन्क्लेभका संयोजक राजु टण्डनले बताए ।
विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन पनि कन्क्लेभ सहयोगी बन्ने उनको अपेक्षा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।