Main

टेबल टेनिस संघमा नयाँ नेतृत्व चयन, विवाद कायमै

१० भदौ, काठमाडौं । ८ भदौमा भएको अखिल नेपाल टेबल टेनिस संघको चुनावले बृजेन्द्रबहादुर हमालको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ ।

दुई दशकसम्म चतुरानन्द राजवैद्य अध्यक्ष रहेको यो संस्थाको चुनावमा यसपटक विवादका कारण उनी उपस्थितसमेत भएनन् ।

राष्ट्रिय खेलकुद परिषदले बनाएको ३ सदस्यीय चुनाव समितिका सदस्य चन्द्रकुमार राईले ८५ प्रतिशत प्रतिनिधिको उपस्थितिमा चुनाव भएको बताए ।

अब टेबल टेनिस खेललाई गति दिने नवनिर्वाचित अध्यक्ष हमालले बताए । ‘हामी टेबल टेनिसको विकासकै भावना लिएर अघि बढेका थियौं र सोही कारणले नै यो नेतृत्व परिवर्तन भएको हो’, उनले भने ।

वर्षौंसम्मको विवाद र किचलो रहेको संघमा अब परिवर्तन र पारदर्शिता कायम गर्ने हमालले बताए । ‘हामी ‘४ प अर्थात प्रभावकारिता, पारदर्शिता, प्रशिक्षण र प्रतियोगितामा ध्यान दिन्छौं, टेबल टेनिस खेलको विकास र विस्तारका लागि कार्यविधि र कार्ययोजना बनाउँछौं’, उनले अनलाइनखबरसँग भने ।

अब विद्यायस्तरसम्म टेबल टेनिसलाई विस्तार गर्ने लक्ष्य नयाँ कार्यसमितिले बनाएको छ । विद्यालयस्तरमा हुने राष्ट्रपति रनिङ शिल्डमा टेबल टेनिस पनि समावेश गर्नुपर्ने हमालले बताए ।

सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि भएका जुनियर तथा सिनियर प्रतियोगितामा टेबलटेनिस खेलाडीले आफ्नै खर्चमा खेल्दै आएका छन् । एसियन च्याम्पियनसिप, जुनियर साउथ एसियन च्याम्पियनसिप जस्ता खेलमा समेत टेबलटेनिस संघले सहयोग गरेन ।

नयाँ कार्यसमितिले यस्ता समस्या बुझ्नुपर्ने एक खेलाडीले बताए । अध्यक्ष हमाल भने धेरै भन्दा धेरै प्रतियोगिता गराउने आफूहरुको कोशिस हुने बताउँछन् ।

‘त्यसका लागि हामी संघीय सरकारलगायत, दाताहरु, निजी लगानीकर्तासँग कुरा गर्छौं । खेलाडीलाई आफ्नो गोजीबाट पैसा हालेर खेल्ने दिनको अन्त्य होस् भन्नेमा हाम्रो ध्यान रहनेछ’, उनले भने ।

टेबल टेनिसमा अब के होला !

अखिल नेपाल टेबल टेनिस संघले नयाँ कार्यसमिती पाएसँगै राष्ट्रिय खेलकुद परिषदमा यसको नवीकरण भएको छ । अब राखेपले आर्थिक सहयोग गर्नेछ ।

राखेपले गठन गरेको निर्वाचन समितिले चुनाव गराउँदा ओलम्पिक कमिटीले पर्यवेक्षक पठाएन । ओलम्पिक कमिटीले प्रतिनिधि नपठाएका कारण आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता माथि भने प्रश्न उठ्न सक्नेछ ।

यसअघि टेबल टेनिसको चुनावमा राजनीतिक हस्तक्षेप भएको भन्दै एसियन टेबल टेनिस फेडेरेसनले पत्र पठाएपछि संघको चुनाव रोकिएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button