Main

म्युचुअल फन्डको रोजाइमा परेका सेयर

२४ भदौ, काठमाडौं । सेयर बजारमा संस्थागत लगानीकर्ताका रुपमा म्युचुअल फन्ड व्यवस्थापक रहँदै आएका छन् । म्युचुअल फन्डको रकम केही मुद्दती निक्षेपमा, केही ऋणपत्रमा लगानी हुने गरे पनि अधिकांश विभिन्न कम्पनीमा सेयरमा हुने गरेको छ ।

म्युचुअल फन्डको रकम सेयरमा लगानी गर्नका लागि प्राविधिक विश्लेषकसहितको रिसर्च टिम राखिएको हुन्छ । म्युचुअल फन्डले १५ प्रतिशतसम्म मात्रै मुद्दतीमा लगानी गर्न पाउँछन् । योजना व्यवस्थापकहरूले सार्वजनिक गरेको विवरणअनुसार साउन मसान्तसम्म फन्डको कुल संकलित रकममध्ये ७३.७० प्रतिशत विभिन्न कम्पनीका धितोपत्रमा लगानी भएको छ । त्यस्तै ११.३० प्रतिशत मुद्दती निक्षेपमा लगानी भएको छ भने १५ प्रतिशत नगदमा छन् । यो १५ प्रतिशत नगद रकमलाई उनीहरुले सेयर बजारमा सर्कुलर गराइरहन्छन् ।

‘फन्डले इकाइधनीबाट संकलन गरेको रकम सकेसम्म बढी प्रतिफलमूलक कम्पनी छनोट गरेर लगानी हुन्छ’ एनएमबी क्यापिटलका सीईओ दिपेश वैद्यले भने ‘दैनिक रुपमा कारोबार गर्नका लागि केही नगदमा रहन्छौं ।’ प्राविधिक रुपमा बढ्ने देखिएका कम्पनी सामान्यतः कारोबारका लागि र दीर्घकालीन रुपमा राम्रो प्रतिफल दिने कम्पनी होल्ड गर्नेगरी म्युचुअल फन्डले रणनीति लिने गरेको उनले बताए ।

नेपालमा म्युचुअल फन्डको आकार त्यति ठूलो भइसकेको छैन । सबै म्युचुअल फन्डको आकार साउन मसान्तसम्म करिब ६१ अर्ब रुपैयाँ बराबर छ । योमध्ये करिब ४५ अर्ब रुपैयाँ दोस्रो बजारमा लगानी भएको छ भने करिब ७ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा छ । त्यस्तै बाँकी ९ अर्ब रुपैयाँ नगद छ ।

साउन मसान्तसम्मको विवरणअनुसार म्युचुअल फन्डले अधिकांश सेयर लगानी वाणिज्य बैंकहरुमा गरेका छन् । म्युचुअल फन्डको कुल सेयर लगानीमा वाणिज्य बैंक समूहमा सबैभन्दा धेरै ३८.७ प्रतिशत छ । त्यसपछि हाइड्रोपावर समूहमा १२.२, जीवन बीमामा १०.४, निर्जीवन बीमामा १०.४, विकास बैंकमा १०.३, माइक्रोफाइनान्समा ८.३, उत्पादन तथा प्रशोधन क्षेत्रमा २.९ प्रतिशत लगानी देखिन्छ ।

म्युचुअल फन्डको रोजाइ बन्न सक्छ लगानी विकल्प
म्युचुअल फन्डको रकम व्यवस्थापकले अध्ययन गरेर राम्रा कम्पनीमा लगानी गर्ने भएकाले कतिपय लगानीकर्ताले सोअनुसार नै आफ्नो रणनीति तय गरेका हुन्छन् । रिसर्च टिमको अध्ययनपछि सोको रिपोर्ट तथा तथ्यांक हेरेर म्यानजमेन्ट टिमले सेयर लगानीका लागि उपयुक्त सेक्टर, कम्पनी छनोट गर्ने गरेको वैद्यले बताए ।

‘म्यानेजमेन्ट टिमले निश्चित सेक्टरबाट छनोट गर्ने कम्पनीबारे रिसर्च टिमसँग समन्वय गरिरहन्छ, रिसर्च टिमको अध्ययनपछि उपयुक्त देखिएका कम्पनीमा लगानीको निर्णय हुन्छ’ उनले भने ।

कम्पनीहरु उच्च मूल्यमा पुगेका बेला वा बेच्न उपयुक्त ठानेका बेला बेचेर नाफा बुक गर्ने गरिएको उनले बताए । ‘हामीले पनि इकाइधनीलाई लाभांश दिनुपर्छ, त्यसकारण नाफा गरेर त्यसैबाट इकाइधनीलाई प्रतिफल दिने हो’ उनले भने ।

कम्पनीको विश्लेषण गर्न नसक्ने तर सेयर बजारमा लगानी गर्न चाहनेका लागि म्युचुअल फन्डको रोजाइमा परेका सेयर विकल्प हुन सक्छन् । हरेक महिना म्युचुअल फन्डले आफ्नो लगानी विवरण सार्वजनिक गर्दै आएका छन् । यहीं विवरणमा कुन कम्पनीमा कति रकमको सेयर लगानी भएको छ भनेर स्पष्ट उल्लेख गरेका हुन्छन् ।

म्युचुअल फन्डले आफ्नो रणनीतिअनुसार लगानी गर्ने भएकाले ती कम्पनी लगानीकर्ताले हेर्न र अध्ययन गर्न सक्ने तर लगानीका लागि निर्णय आफैले गर्नुपर्ने वैद्यको भनाइ छ । म्युचुअल फन्डको रोजाइमा परेका सेयर प्राविधिक तथा सैद्धान्तिक विश्लेषण गरेर किनिने भएकाले तिनको होल्डिङलाई सर्वसाधारणले सेयर खरिदका लागि विकल्पका रुपमा लिन सक्छन् ।

मासिक सार्वजनिक हुने म्युचुअल फन्डको विवरणबाट कुन कुन कम्पनीमा लगानी बढाएका छन्, कुनमा घटाएका छन् भनेर सहजै बुझ्न सकिन्छ । लगानीकर्ताले म्युचुअल फन्डको होल्डिङलाई फलो गरेर आफ्नो लगानी रणनीति बनाउन सक्ने अर्का एक मर्चेन्ट बैंकका सीईओले बताए । न्यून मूल्यमा आएकै बेला म्युचुअल फन्डको रोजइमा परेका सेयर खरिद गर्दा लगानीकर्ताले नोक्सानी ब्यहोर्न नपर्ने उनले बताए । तर कारोबारको रणनीति वा तरिका पनि म्युचुअल फन्डसँग मिल्नुपर्ने उनको भनाइ छ ।

‘म्युचुअल फन्डले कुनै कम्पनीको भाउ घट्नेजस्तो देखेमा स्टप लस गर्ने वा एभरेजिङ गर्नेगरी तयारी अवस्थामा रहन्छन् र सोअनुरुप कारोबार गरिरहेका हुन्छन्’ उनले भने ‘तर सर्वसाधारणले त्यहीं कम्पनी म्युचुअल फन्डले बेचेका बेला टुप्पोमा किन्ने, घटेका बेला एभरेजिङ गर्न नसक्ने हो वा झन् डराएर बेच्ने हो भने त नोक्सानी पनि हुन सक्छ ।’

त्यस्तै बुल र बियरको चरण वा करेक्सन पनि छुट्याउन सक्नुपर्ने उनको सुझाव छ । ‘बियरिस ट्रेन्ड वा करेक्सन छुट्याउन सक्नुपर्छ, बियरिस ट्रेन्ड सुरुआत हो भने एभरेजिङ गर्ने होइन, भएको सेयरमा पनि स्टप लस गर्नुपर्ने हुन्छ । तर बढ्दो बजारमा करेक्सन मात्रै हो भने बेचेर भाग्ने होइन, सके एभरेजिङ गर्ने नत्र होल्ड गर्न सक्नुपर्छ’ उनले भने ।

बजार केही दिन बढेपछि टुप्पोमा किन्ने र घट्न थालेपछि डराएर बेचिहाल्ने प्रवृत्ति धेरै लगानीकर्तामा रहेकाले गुमाउने गरेको उनी बताउँछन् । लगानीकर्ता सुवासचन्द्र ढुंगाना म्युचुअल फन्डको होल्डिङ सेयर र उनीहरुले तत्कालै गरिरहेको कारोबारअनुसार सर्वसाधारणले लगानी रणनीति बनाउन सक्ने  बताउँछन् । ‘म्युचुअल फन्डले खरिद वा बिक्री गरिरहेको सेयर हेरेर पनि लगानीकर्ताले रणनीति बनाउन सक्छन्’ उनले भने ‘त्यति मात्रै नभई उनीहरूले खरिद गरेको औसत प्रतिइकाइ मूल्य पनि थाहा हुनुपर्छ ।’

यदि म्युचुअल फन्डले खरिद गरेको औसत मूल्यभन्दा बजार मूल्य तल झरेमा लगानीकर्ताले किन्नु उपयुक्त हुने उनको भनाइ छ । ‘मैले पनि म्युचुअल फन्डले गरेको कारोबार हेरेर केही रणनीति लिने गरेको छु, लगानी गर्नेलाई यो एउटा राम्रो रणनीति नै हो’ ढुंगानाले भने । एउटा महिनामा धेरै होल्ड देखिएको सेयर अर्को महिनामा नहुन पनि सक्छ ।

म्युचुअल फन्डले छोटो छोटो समयमा कारोबार गरिरहने भएकाले उनीहरुको होल्डिङ भनेर मात्रै खरिद गर्न नहुने उनको भनाइ छ । ‘त्यहाँ विज्ञ हुन्छन्, उनीहरुको रोजाइका कम्पनी राम्रा हुन्छन्, तर ती कम्पनी सधैं होल्ड नगर्न सक्छन्, उनीहरुले बेचेका बेला मूल्य घट्ने जोखिम पनि हुन्छ, त्यो अध्ययन गर्नुपर्छ ।’

म्युचुअल फन्डले होल्ड गरेको सेयर खरिद गर्दा मूल्यमा बढी ध्यान दिनुपर्ने उनको जोड छ । ‘म्युचुअल फन्डले सस्तोमा किनेर होल्ड गरेका हुन्छन्, लक्षित नाफा आएको खण्डमा बेचिहाल्छन्’ उनले भने ।
केही हदसम्म म्युचुअल फन्डको होल्डिङ रहेका कम्पनीको मूल्य घटेका बेला खरिद गरेर लगानी रणनीति बनाउन सकिने उनको भनाइ छ ।

म्युचुअल फन्डले दैनिक रुपमा सेयर कारोबार गरिरहेका हुन्छन् । सेयर मूल्य बढेका बेला नाफा लिएर बेच्ने र घटेका बेला खरिद गर्छन् । आएको नाफाबाट सञ्चालन खर्च कटाएर इकाइधनीलाई लाभांश पनि दिन्छन् ।

सेयरको मूल्य बढ्दै जाँदा म्युचुअल फन्डको खुद सम्पत्ति मूल्य (न्याभ) पनि बढ्दै जान्छ । यहीं न्याभ बढ्दै जाँदा म्युचुअल फन्डको मूल्य पनि बढ्दै जान्छ । खुलामुखी फन्ड योजना न्याभमै कारोबार हुन्छ भने बन्दमुखी योजनाको बजार मूल्यमा कारोबार हुन्छ ।

खुलामुखी योजना बजारमा कारोबार नभए पनि तोकिएका एजेन्ट (बैंक तथा वित्तीय संस्था शाखा)मार्फत किनबेच गर्न सकिन्छ । यस्ता योजना एसआईपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) अन्तर्गत मासिक वा त्रैमासिक रुपमा निश्चित रकम भुक्तानी गरी खरिद गर्न सकिन्छ ।

त्यस्तै बन्दमुखी योजनाको निश्चित समयावधि तोकिएको हुन्छ । सो समयावधि सकिएपछि स्वतः रकम फिर्ता हुन्छ । फन्डले लगानी भएको सबै सेयर बिक्री गर्ने, मुद्दती निक्षेप तथा नगद हिसाव गरी इकाइधनीलाई रकम फिर्ता गर्दछन् ।

नेपालमा सञ्चालितमध्ये सबैभन्दा ठूलो म्युचुअल फण्ड एनआईबीएल सहभागिता फन्ड हो । जसको अधिकृत कोषको आकार ४ अर्ब रुपैयाँ छ । म्युचुअल फण्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ रहने गरे पनि बजारमा त्योभन्दा सस्तोमै पाइन्छ ।

बजारमा हाल विभिन्न कम्पनीका ३६ नामका बन्दमुखी योजना सूचीकृत छन् । तीमध्ये करिब आधा संख्याका योजनाको भाउ १० रुपैयाँभन्दा तल झरेको छ । जसले गर्दा प्राथमिक बजारमा किन्नुभन्दा दोस्रो बजारमा म्युचुअल फन्ड खरिद गर्नु फाइदाजनक देखिएको छ ।

फन्डमार्फत लगानी भएका सेयरको मूल्य घट्न जाँदा फन्डको न्याभ घट्न जाने र यसले बजार मूल्य पनि घट्ने गरेको छ । न्याभको तुलनामा बजार मूल्य सस्तो हुने गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button