Main

बालकुमारी घटना : सीडीओ, प्रहरी प्रमुख र इपीएस शाखाका निर्देशकको जिम्मेवारी खोसियो

१४ पुस, काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रहरी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित ईपीएस कोरिया शाखाका निर्देशक लगायतलाई जिम्मेवारीबाट हटाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाह र इपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको अनलाइनखबरलाई बताए ।

ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय समेत भएको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबारबाट काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बिहीबारको घटनामा काहीँ न काहीँ कमजोरी भएको बताए ।

‘हाम्रो मन्त्रीजीको पीएसओले परिस्थितिको राम्रो आँकलन नगरिकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भिर त्रुटी भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ’, प्रचण्डले भने, ‘त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ ।’

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो । यसअघि प्रदर्शनकारीले भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button