Main

नेपालीले कुन सप्लिमेन्ट खानैपर्छ ?

खानाबाट शरीरलाई विभिन्न प्रकारका पोषक तत्त्व प्राप्त हुन्छ । तर जब खानाले यी पोषक तत्त्वहरूको कमीलाई पूरा गर्न सक्दैन, तब शरीरमा पोषक तत्त्वको कमी हुन्छ । यो कमी पूरा गर्न सप्लिमेन्ट चाहिन्छ ।

सप्लिमेन्टको अवधारणाको विकास नै खाद्य पदार्थबाट अपुग हुने पोषक तत्त्वको कमी र त्यसबाट आइपर्ने जटिलतालाई टार्ने भन्ने देखिन्छ ।

विदेशमा रहेका आफन्तहरूले पठाएका माछाको तेल, क्याल्सियम, एन्टिअक्सिडेन्टका क्याप्सुल, प्रोटिन पाउडर आदिको सेवन गर्ने केही नेपालीबीच यसको जानकारी छ । पछिल्लो समय सर्वसाधारणमाझ पनि सप्लिमेन्ट परिचित छ ।

के हो सप्लिमेन्ट ?

सप्लिमेन्ट भन्नाले मुखबाट सेवन गरिने खाद्यपदार्थ नै हो तर सामान्य आहारबाट आवश्यक पोषणको मात्रा नपुग्ने अवस्थामा परिपूरकका रुपमा दिइन्छ ।

भिटामिन, खनिज पदार्थ, जडीबुटी वा अन्य वनस्पति, एमिनोएसिड वा पूरक खाद्य पदार्थको मिश्रण यसमा पर्छन् । यस्ता पदार्थहरू ट्याब्लेट, क्याप्सुल, झोल, धुलो, जेली आदि स्वरूपमा पाइन्छन् । र, तिनले शरीरलाई आवश्यक पौष्टिक तत्त्व प्रदान गर्नुका साथै पौष्टिक पदार्थको कमीमा लाग्ने रोगको सम्भावनालाई कम गर्छ ।

विशेषगरी भिटामिन जस्तै, भिटामिन ए, बी (बी १, बी २, बी ५, बी ६, बी १२), सी, डी, ई, विभिन्न किसिमका हर्मोन र प्रोटिन फुड सप्लिमेन्टको रूपमा प्रयोग भइरहेको पाइन्छ ।

कस्ता व्यक्तिलाई सप्लिमेन्ट आवश्यक पर्छ ?

यदि दैनिक खानामा स्वस्थ खाद्य पदार्थ प्रयोग गर्ने हो भने फुड सप्लिमेन्ट आवश्यक पर्दैन । तर गर्भवती महिला, स्तनपान गराउने महिला, ५० वर्ष भन्दा बढी उमेरका व्यक्ति, कुनै स्वास्थ्य समस्याको कारण कमजोर भएका व्यक्ति, शाकाहारी, पाँच वर्ष भन्दा कम उमेरका बालबालिका, घाममा बस्न नपाउने व्यक्तिलाई सप्लिमेन्टको आवश्यक पर्न सक्छ । साथै डाइटिसियन वा चिकित्सकको निगरानीमा आईसीयूमा रहेका  गम्भीर बिरामीलाई पनि विभिन्न सूक्ष्म पोषक तत्त्वहरू भएका पूरक खाना दिन सकिन्छ ।

चिकित्सक तथा डाइटिसियनको सल्लाह अनिवार्य

सप्लिमेन्ट खानुअघि चिकित्सक तथा पोषणविद्को परामर्श लिनु जरुरी छ । कुनै पनि प्रकारको सप्लिमेन्ट आफूखुसी किनेर खानु हुँदैन । आफूखुसी किनेर खाँदा शरीरलाई आवश्यकभन्दा बढी भएर विभिन्न अंगमा जम्मा भएर प्रतिकूल अवस्था निम्त्याउन सक्छ ।

कुनै पनि सप्लिमेन्ट सुरु गर्नुअघि शरीरमा त्यसको मात्रा कति छ भनेर परीक्षण गर्नुपर्छ । यदि शरीरमा त्यसको कमी छ भने मात्र सुरु गर्नुपर्छ । खानाले कमी भएको पोषक तत्त्वलाई पूरा गर्न नसकेको खण्डमा पनि चिकित्सकको सल्लाह लिएर मात्र सप्लिमेन्ट किन्नु उचित हुन्छ । चिकित्सक तथा डाइटिसियनले सिफारिस गरेको भन्दा बाहेकको सप्लिमेन्ट किनेर खानु हुँदैन ।

नेपालीलाई आवश्यक पर्ने सप्लिमेन्ट

सन्तुलित भोजनको अभावले शरीरमा भिटामिन, लवण पदार्थ नपुगेका मानिस, कामको चापले घाममा ननिस्कनेहरू तथा रोगका कारण शरीरले त्यस्ता पदार्थ ग्रहण नगर्ने नेपालीले सप्लिमेन्टको प्रयोग गर्न सक्छन् ।

नेपालीलाई विशेषगरी आयोडिन, भिटामिन डी, आइरन, फोलिक एसिड र भिटामिन बी-१२ को कमी भएको पाइन्छ । यस्तोमा यस्ता सप्लिमेन्ट नेपालीलाई बढी सिफारिस गरिन्छ ।

सप्लिमेन्ट खाने सही समय

भिटामिन डी र क्याल्सियम सप्लिमेन्ट बिहानको खानापछि खानु उचित हुन्छ । बिहानको खानापछि भिटामिन डी र क्याल्सियमको सेवन गरियो भने हड्डीको स्वास्थ्यमा सुधार गर्नुका साथै बलियो बनाउँछ ।

ओमेगा ३, मल्टिभिटामिन, फ्याटी एसिड, भिटामिनको सेवन बिहानको खाना वा बेलुकाको खाना पछि गर्नु राम्रो हुन्छ । खानाको साथ यी पूरकहरू लिंदा पोषक तत्त्वको अवशोषण राम्ररी हुन्छ ।

भिटामिन बी-१२ र भिटामिन सीको सेवन खानाअघि गर्नुपर्छ । खानाअघि बी-१२ खाँदा पाचन प्रणाली राम्रो हुन्छ । भिटामिन सीले प्रतिरक्षा बढाउने र कोलेजन उत्पादन गर्छ ।

हामीले खाने नुनमै आयोडिन सप्लिमेन्ट गरिराखेको हुन्छ ।

कुन उमेरमा कस्तो सप्लिमेन्ट ?

स्तनपान गरिरहेका बालबालिकालाई भिटामिन डी र आइरन सप्लिमेन्ट दिनु राम्रो हुन्छ । किनभने आमाको दूधले बच्चामा भिटामिन डी र आइरनको कमीलाई पूरा गर्दैन । योसँगै बढ्दो बालबालिकामा क्याल्सियम र भिटामिन डीको कमी पनि बढ्छ । त्यसकारण बढ्दो बच्चालाई क्याल्सियम र भिटामिन डी पूरक दिन सल्लाह दिइन्छ ।

२० देखि ३० वर्षको उमेरमा शरीरमा फोलिक एसिड, आइरन र भिटामिन बी-१२ को कमी हुनसक्छ । यस्तो अवस्थामा उनीहरूलाई सप्लिमेन्ट लिने सल्लाह दिइन्छ । यस उमेर समूहका व्यक्तिलाई आहारको बानी वा केही स्वास्थ्य अवस्थालाई ध्यानमा राखी मात्रै सप्लिमेन्ट लिन सल्लाह दिइन्छ ।

गर्भावस्थामा शरीरमा आइरन र फोलिक एसिडको कमी हुन्छ । तसर्थ, गर्भवती महिलालाई आहारमा यी खनिजहरू समावेश गर्न सल्लाह दिइन्छ । आहारमा आइरन र फोलिक एसिडको सप्लिमेन्ट समावेश गर्नाले गर्भावस्था स्वस्थ हुन्छ ।

४० देखि ५० वर्षको उमेरमा मानिस युवा र बुढ्यौलीको बीचमा हुन्छ । यो उमेरमा मानिसलाई हड्डी र मुटुको स्वास्थ्यसँग सम्बन्धित समस्या बढी हुन्छ । यस्तो अवस्थामा ओमेगा ३, क्याल्सियम र भिटामिन डीको सप्लिमेन्ट लिन सल्लाह दिइन्छ । किनभने यी सबै सप्लिमेन्ट हड्डी र मुटुको स्वास्थ्यका लागि आवश्यक हुन्छन् ।

सप्लिमेन्टको सेवन सधै होइन निश्चित अवधिको लागि

एक स्वास्थ्य व्यक्तिले सप्लिमेन्ट खाइराख्नु पर्दैन । बिरामी भएर लामो समय थलिएका व्यक्ति वा खानामा पोषक तत्त्वको कमी भएका व्यक्तिलाई सप्लिमेन्ट दिइन्छ । यस्ता सप्लिमेन्ट सधैंभरि खानुपर्दैन, निश्चित अवधिसम्म मात्र खाए हुन्छ ।

चिकित्सकले निश्चित अवधिका लागि दिएको सप्लिमेन्टले आफूलाई फाइदा पुर्‍याइरहेको छ भनेर सधैंभरि खानुहुँदैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button