‘बेहुली फ्रम मेघौली’को ३ दिने कमाइबारे के भन्छन् निर्माता ?
काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर सोसल ड्रामा ‘बेहुली फ्रम मेघौली’ले पहिलो सप्ताहन्त घरेलु बक्सअफिसमा सुखद प्रदर्शन गरेको छ । फिल्मले ३ दिनमा २ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माताले जनाएका छन् ।
पहिलो दिन ८० लाख ओपनिङ गरेको भनिएको फिल्मले शनिबार उत्कृष्ट कमाइ गरेको वितरण कम्पनी डीसीएनले जनाएको छ । फिल्मले शनिबार पहिलो दिनभन्दा पनि राम्रो ब्यापार गरेको डीसीएन वितरण प्रमुख दीपक दंगालले बताए ।
निर्मात्री समेत रहेकी स्वस्तिमाले पनि सामाजिक संजालबाट ३ दिने कमाइ सार्वजनिक गरेकी छन् । ‘सबैको मायाको लागि धन्यवाद’ बक्स अफिस कलेक्सन सार्वजनिक गर्दै उनले भनेकी छन् ।
सोमबार पनि फिल्मले छायांकन थलो चितवन आसपासका हलसहित काठमाडौं र पोखराका मल्टिप्लेक्समा सुखद अकुपेन्सीसहित कमाइ गरेको छ । साजन बराल र आकाश काफ्ले निर्देशित फिल्मले ३० वर्ष उमेर पुगेकी युवतीलाई योग्य वर पाउन गर्नुपर्ने सकसको कथा भन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।