Main

‘१२ गाउँ’को बक्स अफिस सन्देश- एक्सन फिल्म पनि ‘मास डिफाइन’ बन्न सक्छ

काठमाडौं । पछिल्ला केही वर्षयता घरेलु फिल्मको कथ्य परम्पराको केन्द्रमा सामाजिक यथार्थवाद घुमिरह्यो । बक्स अफिसमा पनि यही मनोविज्ञान वरपरका फिल्मको वर्चस्व देखियो ।

केही फिल्मलाई अपवाद मान्ने हो भने, ‘सोसल ड्रामा’ बाहेकका जनरामा फिल्म बन्ने क्रममा गिरावट आइरहेको थियो । एक्सन जनराका फिल्म त ‘मिसिङ’ नै भैरहेका थिए ।

यो रिक्तताबीच रिलिज भयो – १२ गाउँ । सामाजिक यथार्थलाई फिक्सनसँग जोडेर एक्सन जनरामा बनाइएको यो फिल्मले यतिबेला पैसा छापिरहेको छ ।

विराज भट्ट निर्देशित यो फिल्मको ६ दिनको कमाइ ६ करोडभन्दा माथि रहेको अनुमान छ । तर, वितरक र निर्माताले यसबारे स्वतन्त्र पुष्टि गर्न बाँकी छ ।

जसरी ‘१२ गाउँ’ले बक्स अफिसमा आक्रामक कमाइ गर्‍यो, गरिरहेको छ, यो धेरैका लागि अनपेक्षित ब्यापार हो । एकातिर ‘छक्कापञ्जा वेभ’ र अर्कोतिर एक्सन फिल्मका सीमित दर्शक, यी मापदण्डलाई चुनौति दिँदै ‘१२ गाउँ’को कमाइ आफैमा उत्साहजनक हो ।

घरेलु फिल्ममा एक्सन जनराका फिल्मको रिक्तता महसुस गरेका दर्शकले धेरैपछि नेपाली स्वादमा एक्सन हेर्न पाएका छन् । रिलिजअघि आयोजित पत्रकार सम्मेलनमा निर्देशक, निर्माता तथा अभिनेता भट्टले एक अर्थपूर्ण अभिव्यक्ति दिएका थिए ।

भनेका थिए- पछिल्लो समय एक्सन फिल्म बन्न छाडिरहेका थिए । त्यो देखेर मैले १२ गाउँ बनाएको हुँ । यो फिल्मले एक्सन फिल्मको भ्याकुमलाई पुरा गर्नेछ ।’ उनले नेपाली एक्सन फिल्मलाई करोडौं भारुका केजीएफ र सलारसँग नदाँज्न समेत अपिल गरेका थिए ।

विराजले संकेत गरेजस्तै, ‘१२ गाउँ’को चलायमान बक्स अफिसले विविध जनरामा फिल्म बन्नुपर्छ र दर्शक यसका लागि अधैर्य छन् भन्ने सन्देश दिन्छ । यद्यपि, यो फिल्मको शिल्पमाथि बहस भने गर्ने प्रशस्त ठाउँ छन् ।

फिल्म निर्देशक तथा स्क्रिप्ट डक्टर मनोज पण्डितले दशैंमा रिलिज भएका तीनैवटा फिल्म हेरेपछि आफ्नो निष्कर्ष सुनाएका छन् । उनी भन्छन्- यो दशैंको एकमात्र उपलब्धि समीर भट्टको नेपाली सिनेमा क्षेत्रमा आगमन हो । विराज भट्ट आफ्नो लिगेसी अगाडि बढाउन सफल ।’

‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’को चुनौति चिरेर ‘१२ गाउँ’ जसरी चलिरहेको छ, यसले एक्सन फिल्म बनाउने ल्याउने तयारीमा रहेका अन्य निर्मातालाई पनि ढाडस दिएको अनुमान गर्न सकिन्छ ।

यो फिल्मको मुख्य सन्देश- एक्सन जनराका फिल्म पनि मास डिफाइन फिल्म बन्न सक्छ भन्ने कुरा हो । यसका लागि विविध जनराका फिल्म निर्माणको अभ्यास गर्न ढिला भैसक्यो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button