‘स्पाइडरम्यान’को नयाँ श्रृंखला आउने पक्का
काठमाडौं । हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’को नयाँ श्रृंखलालाई लिएर विश्वभर प्रतीक्षा भैरहँदा यसबारे नयाँ अपडेट छ । अभिनेता टम हल्याण्डले फिल्मको स्क्रिप्ट पढ्न सुरु गरेका छन् ।
यसको अर्थ, नयाँ सिक्वेलमा पनि हल्याण्ड देखिने निश्चित छ । आगामी श्रृंखला हल्याण्डको चौंथो स्पाइडरम्यान फिल्म हुनेछ । भेराइटी म्यागजिनले अभिनेत्री जेन्डायासँग मिलेर टमले स्क्रिप्ट पढिरहेको समाचार लेखेको छ ।
‘रिच रोल पडकास्ट’लाई अन्तर्वार्ता दिँदै हल्याण्डले आफूले आगामी फिल्मको स्क्रिप्टको ड्राफ्ट पढेको बताएका हुन् । ‘अझै काम गर्नुपर्ने जरुरी छ । लेखकले निकै राम्रो काम गरिरहेका छन्’ उनले भने ।
यसअघि ‘साङ् ची एन्ड द लिजेन्ड अफ द टेन रिङ्स’ फेम्ड निर्देशक डेस्टिन डेनियल क्रेटनले स्पाइरडम्यानको आगामी श्रृंखलालाई निर्देशन गर्ने खुलासा यसअघि नै भैसकेको छ । अभिनेता हल्याण्डले अभिनय गरेका अघिल्ला तीन फिल्मलाई जोन वाट्सले निर्देशन गरेका थिए ।
‘एउटा कुरा यो हो कि, मार्वलसँग फिल्म गर्नु भनेको ठूलो मेसिनमा सानो पेचकस राख्नु हो’ स्पाइडरम्यान ५ को विकासबारे हल्याण्डले भने, ‘त्यो मेसिन चलिरहनुपर्छ । सहि समयमा सहि फाइदा लिने कुरामा तपाईंले निश्चित गर्नुपर्छ । यो हामीले सामना गरिरहेका चुनौतीमध्ये एक हो ।’
उनले स्क्रिप्टलाई उत्कृष्ट भएको बताए । ‘हामीसँग जुन ड्राफ्ट छ त्यो निकै उत्कृष्ट छ । यसमाथि अझै काम गर्न जरुरी छ । लेखकले निकै राम्रो काम गरिरहेका छन् । मैले यसलाई तीन साताअघि पढेको थिएँ र यसले मभित्र ऊर्जा भर्यो । जेन्डाया र बसेर यसलाई पढ्थ्यौं । यो वास्तविक फिल्म हो जुन प्रशंसकमाझ सम्मानको हकदार छ ।’
हल्याण्डले यसअघि सन् २०१७ को फिल्म ‘स्पाइरम्यान : होम कमिङ’, सन् २०१९ को ‘स्पाइडरम्यान : फार फ्रम होम’ र सन् २०२१ मा ‘स्पाइडरम्यान : नो वे होम’मा काम गरिसकेका छन् । उनले मार्वलको ब्लकबस्टर फिल्म ‘एभेन्जर्स एण्डगेम’मा पनि अभिनय गरेका छन् । मार्वल सिनेम्याटिक युनिभर्समा जेन्डायले एमजे नामक रोलमा अभिनय गरेकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।